काठमाडौं : महानगर क्षेत्रका केही सामुदायिक कुकुरमा डिस्टेम्पर रोग देखिएको छ । कुकुरमा समस्या देखिएको भन्ने स्थानीयको सूचनाका आधारमा परीक्षण गर्दा रोग पत्ता लागेको महानगरपालिका पशुपक्षी विभागका प्रमुख डा. अवधेश झाले बताए।
कुकुरमा हुने यो रोग एक कुकुरदेखि अर्कोमा सजिलै सर्छ, तर कुकुरबाट मान्छेमा भने सर्दैन । यो प्राणघातक रोग हो । उनका अनुरसार रोग लागेका कुकुरलाई ज्वरो आउने, खाना नखाने, झोक्राउने, नाकमा सिँगान र आँखामा चिप्रा देखिने हुन्छ । त्यस्तै खोक्ने, बान्ता गर्ने, दिसा पातलो गर्ने, छारे रोगजस्तो लक्षण देखाउने, लडबडाएर हिँड्ने, किटकिट गरेर दाँत बजाउने लक्षण पनि रहेको उनले बताए ।
रोग लागेका कुकुरका बारेमा जानकारी आएपछि उपचार र व्यवस्थापनको काम थालिसकिएको विभागले जनाएको छ । सामुदायिक कुकुरमा यस्ता समस्या देखिए, महानगरपालिकाको निःशुल्क टेलिफोन नम्बर १६६००१०५५११ र ११८० मा सूचना दिन विभागले अनुरोध गरेको छ ।