धनगढी: कैलालीका ६ वटा फार्मेसी तथा क्लिनिकलाई औषधि व्यवस्था विभागको टोलीले कारबाही गरेको छ । यहि मंसिर १७ गतेदेखि शनिबारसम्म कैलालीका विभिन्न स्थानमा रहेका फार्मेसीहरुलाई कारबाही गरेको हो ।
अनुगमनका क्रममा दर्ता बिना सञ्चालन रहेका, अयोग्य व्यक्तिले सञ्चालन गरेको, होमियोप्याथिकमा दर्ता भई एलोपेथिक औषधि विक्री वितरण गर्ने लगायतका ६ वटा फार्मेसीलाई कारबाही गरिएको औषधि व्यवस्था विभाग नेपालगञ्जका दिपेन्द्र कुमार शाहले जानकारी दिए ।
उनका अनुसार कैलालीको बर्दगोरिया वडा नम्बर ३ खैरेनी तापस लस्करविरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको छ भने गौरिगंगा नगरपालिका वडा नम्बर १ मञ्श्री आयुर्वेद र श्रीवास्तक मेडिकल तथा अत्तरियामा रहेको श्रीजी सर्जिकल सप्लायर्समा शिलबन्दी गरिएको छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ७ स्थित भैरव क्लिनिक सिएमएद्धारा सञ्चालित पसल र जेसि होमियो मेडिकल हलले एलोपेथिक औषधि विक्री वितरण गरिएको पाइएपछि सम्पूर्ण औषधि जफत गरि अनुसन्धान अघि बढाएको उनको भनाई छ ।
उनले भने –‘थप अन्य अनुगमनमा परेकाहरुलाई औषधि व्यवस्था विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।’