काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले क्यान्सर विरुद्धको लडाइँमा सार्क राष्ट्रका विज्ञहरू एक ठाउँमा उभिनु पर्ने बताएका छन् । सार्क फेडरेसन अफ अंकोलोजिस्टस् र सार्क फेडरेसन अफ अंकोलोजिस्टस् नेपालको आयोजनामा राजधानीमा शुक्रवारदेखि सुरु भएको १८ औँ सार्क फेडरेसन अफ अंकोलोजिस्टस् क्यान्सर सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले क्यान्सर न्यूनीकरणका लागि सार्क राष्ट्रका विज्ञहरू एक ठाउँमा उभिएर समस्याको समाधान खोज्नु पर्ने बताएका हुन् ।
वर्तमान अवस्थामा विज्ञहरूको मेहनत र नयाँ खोज अनुसन्धानले क्यान्सर पनि उपचार पछि निको हुने रोगको रूपमा लिन थालिएको बताउँदै मन्त्री बस्नेतले सार्क राष्ट्रका विज्ञहरूले आपसी अनुभव आदान प्रदान र उपचार विधिका विषयमा गहन छलफल गरेर ठोस परिणाम निकाल्न सक्ने विश्वास व्यक्त गरे ।
क्यान्सर रोगको उपचारमा संलग्न चिकित्सकहरुको प्रशंसा गर्दै मन्त्री बस्नेतले भने , ‘ तपाईँहरूको मेहनत र प्रयासले हामी क्यान्सर विरुद्धको लडाई जित्न सक्छौ । यो अभियानमा सबैको संयुक्त अठोट आवश्यक छ । ’