नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पतालमा ‘ब्रेन एन्यूरिज्म’ भनिने मस्तिष्क नसासम्बन्धी जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । मस्तिष्कको नसासम्बन्धी शल्यक्रिया र उपचारका लागि यस क्षेत्रका अधिकांश बिरामी भारतको लखनउस्थित सुविधा सम्पन्न अस्पतालमा जानेगरेको भए पनि यहीँ नै सफल शल्यक्रिया हुन थालेको हो ।
जटिल मानिने ‘ब्रेन एन्यूरिज्म’ को शल्यक्रिया सफलतापूर्वक गरिएपछि यस क्षेत्रका बिरामीलाई सेवा दिन सहज भएको शल्यक्रियामा संलग्न न्यूरोसर्जन डा निरज घिमिरेले बताए । दिमागको रक्तनली फुलेर बेलुनजस्तो हुँदै फुटेर आन्तरिक रक्तस्राव हुनुलाई ‘ब्रेन एन्यूरिज्म’ भनिने जनाउँदै भजनी नगरपालिका –२ कैलालीका ४३ वर्षीय अट्वारी चौधरी र दाङ दंगीशरण गाउँपालिकाकी ५३ वर्षीया खगा श्रेष्ठको सफल शल्यक्रिया भएको उनले बताए । आफूसँगै न्यूरोसर्जनहरु डा. मनिष काेलाक्षपति, र ड. सुबोध गौतम सहभागी भएको उनको भनाई छ ।
न्यूरोसर्जन डा. कक्षपति नेतृत्वको टोलिले ५ घण्टा लगाएर चौधरीको सफलतापूर्वक शल्यक्रिया गरेको थियो। शल्यक्रियापछि उनको स्वास्थ्य अवस्था सामान्य बन्दैगएको अस्पतालले जनाएको छ।
नेपालगन्ज मेडिकल कलेजले काठमाडौँस्थित अन्नपूर्ण अस्पताल (अन्नपूर्ण न्यूरोलोजिकल इन्स्टिच्युट एन्ड एलाइड साइन्सेस) सँगको सहकार्यमा नेपालगन्ज र कोहलपुरमा न्यूरो सेवा दिन थालेको हो ।