बाजुरा : बाजुरामा एक महिलाले बाटोमै बच्चालाई जन्म दिएकी छिन् । जिल्लाको बुढिनन्दा नगरपालिका–४ कुरु बस्ने ३१ वर्षीया पानसरा रोकायाले तेस्रो सन्तानका रुपमा बाटोमै छोरीलाई जन्म दिएकी हुन् ।
मंगलबार सुत्केरी व्यथा लाग्ने बितिकै पानसरा एक्लै आधारभुत स्वास्थ्य केन्द्र कुरु जाँदै गर्दा बाटोमा छोरी जन्माएको स्वास्थ्य केन्द्रकी प्रमुख धर्मा चदाराले बताएकी छन् । आफू स्वास्थ्य चौकी जाँदै गर्दा बाटोमा बच्चा पाइरहेको फेला पारेपछि उनलाई सहयोग गरेको चदाराले बताइन् ।
‘पानसरालाई अत्यधिक रक्तस्राव भएको थियो । बाटोबाट उद्धार गरेर स्वास्थ्य चौकी लगे’ उनले भनिन् । पानसरासँग कोही पनि आफन्त नरहेको पाइएको छ ।
उनले यसअघि दुई सन्तानलाई पनि काम गर्ने गएका बेला बाटो र जंगलमा जन्माएको बताएकी छिन् ।