काठमाडौं, १९ मंसिर । आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस । नेपालमा यस दिनमा महिला स्वास्थ्यस्वयंसेविका दिवस मनाउने गरिएको छ । यस वर्ष ‘स्वास्थ्य क्षेत्रमा दिगो बिकासः महिला सामुदायिक स्वास्थ्य स्वमंसेविकाको संयुक्त प्रयास” भन्ने मुल नाराका साथ २० औं राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस विभिन्न कार्यक्रम गरि मनाइँदै छ । सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाका कारण आज देशमा मातृ/शिशु मृत्युदर घट्नुका साथै ग्रामिण स्वास्थ्य प्रवर्धन र सचेतना अभिवृद्धिमा ठूलो टेवा पुगेको छ ।
विसं २०४५ सालदेखि सुरु भएको महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम हालसम्म आउँदा जनस्वास्थ्यको ठूलो र प्रभावकारी स्वयंसेवक दस्ता मानिएको छ । स्वयंसेवी भावले आमा समुहबाट चुनिएको महिला स्वयंसेविका हुने र उनले आधारभूत स्वास्थ्यको तालिम पाउँदा त्यसले ग्रामिण स्वास्थ्य कार्यक्रम सञ्चालनमा टेवा पुगेको छ । हाल देशभर गरेर ५० हजारभन्दा धेरै स्वयंसेविका रहेका छन् ।
महिला स्वास्थ्य स्वयंसेविकाको लोगोमा चारवटा गोलो दिइएको छ । उनीहरुको पोशाकमा पनि यो चारवटा गोलो भएको लोगो रहेको छ । कतिपयलाई यसको अर्थ थाहा नहुनपनि सक्छ । राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रम रणनीति २०६७ (पहिलो संशोधन २०७६) मा उक्त लोगोको व्याख्या गरिएको छ ।
महिला स्वास्थ्य स्वयंसेविका स्वास्थ्य संरचनाको सबैभन्दा पीँधमा रहेको संगठन हो । जनस्वास्थ्यका कार्यक्रमहरु जस्तै खोप, भिटामिनजस्ता कार्यक्रमका साथै गर्भवति महिला र शिशुस्वास्थ्यको हेरचाह गर्ने महिला स्वास्थ्य स्वयंसेविका लोगोको सबैभन्दा भित्री घेरा हो । महिला स्वास्थ्य स्वयंसेविकाका कारणमात्र उक्त स्थानीय तहको जनस्वास्थ्य कार्यक्रम सञ्चालन हुने भएकाले दोश्रो घेरा पालिका, तेश्रो घेरा प्रदेश र चौथो घेरा संघीय संरचना हो । स्वास्थ्य स्वयंसेविकाको पहिलो घेरा चलायमान भएमात्र बाँकी तीनवटा घेराको अस्तित्व रहन्छ भन्ने आशय यस लोगोमा रहेको छ ।
त्यसो त पछिल्ला दशकहरुमा सुधार भएका नेपालका स्वास्थ्य सूचकांकहरु हेर्ने हो भने स्वास्थ्य स्वयंसेविकाको योगदान महशुस हुन्छ ।
के पाउँछन् महिला स्वास्थ्य स्वयंसेविकाले ?
स्वयंसेवक सेवालाई अझ मर्यादित बनाउने र प्रोत्साहन गर्ने सोच अनुरुप डिसेम्बर ५ तारिखलाई अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसलाई महिला स्वास्थ्य स्वयंसेविका दिवसको रुपमा मनाउन थालिएको हो । देशभरिका स्वास्थ्य स्वयंसेविकालाई वर्षेनी उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविकाको रुपमा छनोट गरी एकजोर कपडा (साडी,र चोलो) वितरण गर्ने गरिएको छ ।
हरेक महिला स्वास्थ्य स्वयंसेविकालाई पोषक भत्ताको रुपमा वार्षिक ६ हजार रुपैयाँ र स्वयंसेविका कोषको रुपमा वार्षिक रु१ ० हजार उपलब्ध गराइँदै आएको छ । हरेक महिला स्वास्थ्य स्वयंसेविकाको नाममा रु ५० हजारका दरले अक्षय कोषको स्थापना पनि गरिएको छ ।
महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल फोन सेटपनि दिने चलन सुरु गरिएको छ । सरकारले योग्य र सक्रिय महिला स्वास्थ्य स्वयंसेविकालाई अक्जुलियरी नर्स मिडवाइफको तालिम दिने व्यवस्था पनि गरेको छ ।
के के हुन् स्वयंसेविकाका आचारसंहिता ?
राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रम रणनीति २०६७ (पहिलो संशोधन २०७६) ले महिला स्वास्थ्य स्वयंसेविकाका आचारसंहितापनि तोकिदिएको छ । रणनीतिका अनुसार स्वयंसेविकाले पालना गर्नुपर्ने आचारसंहिता निम्न छ ।
१. स्वयंसेवी भावले समुदायको स्वास्थ्य अधिकार र पहुँचलाई मूलमन्त्र मानी नैतिकता, इमान्दारिता र उच्च मनोबलका साथ कार्य गर्नेछु ।
२. आफ्नो सीप र ज्ञानको उपयुक्त रुपमा सदुपयोग गरी विभिन्न स्वास्थ्य कायर्शक्रममा संलग्न भई समुदायमा स्वास्थ्य सेवाको प्रवर्धन गर्नेछु ।
३. आफु सम्बद्ध आमा समुहप्रति इमान्दारी, जबाफदेही तथा प्रतिवद्ध भई पूर्ण रुपमा कार्य गर्नेछु ।
४. स्वयंसेवकको भावना र मर्मलाई कार्यगत रुपमा उतारी समुदायको स्वास्थ्य र भलाईको प्रवर्धन गर्नेछु ।
५. सिकेका ज्ञान र सीपको समूचित प्रयोग गरी जनसमुदायलाई स्वास्थ्य संस्था तथा गाउँघर क्लिनिकबाट स्वास्थ्य सेवा लिन उन्प्रेरित गर्ने तथा स्वास्थ्य प्रवर्धन गर्न लागाउनेछु ।
६. समुदायसँगको व्यवहारमा सँधै विनम्र रुपमा सहयोगी हुनेछु ।
७. सेवाग्राहीको गोपनीयता कायम राख्नेछु ।
८. आर्जित ज्ञान र सीपलाई सही सदुपयोग गरी आमा र शिशुको स्वस्थ्य उत्थानमा आफ्नो हृदयदेखि नै लाग्नेछु ।
९. स्वास्थ्य आमा समुहलाई सशक्तिकरण गनृ तथा स्वास्थ्य सेवा सुदृढ गर्न यथासक्य कोशिस गर्नेछु ।
१०. महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कोषको भावना र मर्म अनुसार यसको दिगोपन र प्रयोगमा सहभागी हुनेछु ।
११. समुदाय तथा व्यक्तिको मान्यता र संस्कृतिलाई कदर गरी पक्षपातरहित सेवा दिनेछु ।
१२. स्वास्थ्य क्षेत्रमा सञ्चालित अभियान कार्यक्रममा सक्रिय रुपले सहभागी हुनेछु ।
१३. महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाले पालना गर्नुपर्ने नीति, नियम तथा मन्त्रालय र अन्तर्गत सञ्चालित कार्यक्रमहरुलाई प्राथमिकताका साथ सम्पन्न गर्नेछु ।
१४. कुनैपनी तलबी कार्यमा वा रानैतिक पदमा नियुक्ति भएमा महिला स्वास्थ्य स्वयंसेविकाको उत्तरदायित्वबाट अलग हुनेछु ।
१५. जात, लिंग, धर्म, भाष, रंग, उमेर, शारीरिक असक्षमता, राजनैतिक विचारधार तथा अन्य कुराहरुले मेरो कार्यमा बाधा पर्ने छैन भनी विश्वास दिलाउनेछु ।
१६. आधिकारिक कार्यक्रमहरु हुँदा आफ्नो राजनैतिक विश्वासबारे प्रचारप्रसार गर्ने छैन ।