काठमाडौँ, १४ मंसिर । नेपाल चिकित्सक संघ(एनएमए) ले सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) बुटवलमा भएको घटनाको निन्दा गरेको छ ।
संघका महासचिव डा सन्जिब तिवारीले विज्ञप्ति जारी गर्दै अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा उपचारको क्रममा भएको मृत्युलाई लापरबाही भनी अस्वाभाविक आरोप लगाई आक्रमण गरेकोप्रति निन्दा व्यक्त गरेका हुन् ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र बस्यालमाथि कुटपिट गर्ने समूहलाई कारबाही गर्न संघले माग गरेको छ।
‘उपचारको क्रममा कुनै त्रुटी भएको शंका लागेमा कानूनी प्रक्रियामा जाने, सत्यतथ्य छानबिन गरी कानून बमोजिमको दण्ड सजायको भागिदार जोसुकै हुने कानूनी प्रावधान विपरीत स्वास्थ्यकर्मी, बिरामी तथा सर्वसाधारणल नै आतंकित हुने गरी घटाइएको घटनाले स्वास्थ्य सेवाप्रवाहमा गम्भीर असर पुगेको छ’, विज्ञप्तिमा उल्लेख छ।
संघले दोषीलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ र पहिलो संशोधन ऐन २०७९ बमोजिम अबिलम्ब छानबिन गरी कानूनी कारबाही गर्न माग गरेको छ।