काठमाडौँ, १३ मंसिर । काठमाडौं महानगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र सूर्तिजन्य पदार्थ बिक्रि वितरणमा पूर्ण रोक लगाउने भएको छ । मंगलबार महानगरको स्वास्थ्य विभागले एक सूचना जारी गर्दै काठमाडौँ महानगरभित्र सूर्तिजन्य पदार्थ बेचबिखनमा निषेध गरिएको जानकारी दिएको हो ।
‘सूर्तीजन्य पदार्थ सेवनले मानवीय स्वास्थ्यमा प्रतिकुल असर पर्नुका साथै ती वस्तु प्याक गर्न बनेको प्लाष्टिकजन्य वस्तुहरुले भूमि प्रदूषित हुने, ढल जाम हुने, फोहोरमैला बढ्न गई शहरको सौन्दर्यतामा प्रतिकूल प्रभाव पारेको छ’,सूचनामा उल्लेख छ ।
उक्त व्यवस्था १५ दिनपछि लागू हुने बताउँदै सेवनका निमित्त बनाइएका वा उत्पादन गरिएका (चुरोट, विँडी, सिंगार, तमाखु, सुल्फा, कक्कड, प्लाष्टिकमा प्याक गरिएका कच्चा सूर्ती, खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने) सूर्तीजन्य पदार्थको भण्डारण, बिक्री र प्रयोगमा रोक लगाउने उल्लेख गर्दै कसैले बिक्री गरेको देखे नगर प्रहरीले सामान जफत गरिने बताइएको छ।
साथै यस्ता वस्तुको बिक्री वितरण गर्ने व्यवसायीलाई कानुन अनुसार अधिकतम सजाय समेत दिइने जारी सूचनामा उल्लेख छ।