काठमाडौँ, ८ मंसिर । जनकपुर न्यूरो हस्पिटलमा भएको बालक मृत्यु प्रकरण घटना १० लाख रुपैयाँमा मिलापत्र भएको बुझिएको छ।
उपचारमा लापरबाही गर्ने चिकित्सकलाई कानूनबमोजिम कारबाही गरिनुपर्ने मागसहित आन्दोलन गरिएपनि प्रहरी प्रशासनकै रोहबरमा पीडित परिवारलाई १० लाख रुपैयाँमा थामथुम बनाउने पारिएको हो।
बिहिवार अस्पतालमा उपचारपछि डिस्चार्ज भएलगत्तै धनुषाको धनुषाधाम नगरपालिका ६ मालटोलका विक्रम कालीकोटेका ४ वर्षीय छोरा जेम्सको मृत्यु भएको थियो।
मृतकका परिवारले उपचारमा लापरबाहीको कारण बालकको मृत्यु भएको आरोप लगाउँदै घटनाको छानबिन गरी दोषी डाक्टरलाई कारबाही र आवश्यक क्षतिपूर्तिको माग गरेको थियो। उनीहरुले शव बुझ्न इन्कार समेत गरेका थिए ।
तर, यो घटनामा धनुषा प्रहरीकै रोहबरमा १० लाख रुपैयाँमा मिलापत्र गरिएको छ। अस्पतालले क्रिया खर्चवापत १० लाख रुपैयाँ दिएपछि शव बुझेर आएको आफन्त मिथला नगरपालिका–२ नक्टाझिजका वीरबहादुर रयासलीले स्वीकारेका छन् ।
मृतक बालकका मामा सुनिल परियाका अनुसार क्षतिपूर्ति ५० लाख रुपैयाँ, उपचारमा संलग्न चिकित्सकको लाइसेन्स खारेज र हस्पिटल सिल गर्नुपर्ने सहितको मृतक परिवारको सर्त थियो । तर १० लाख रुपैयाँ दिने सहमति भएको उनले पनि पुष्टि गरे ।
मृतक बालकको ठूलाबुबा टिकाराम कालिकोटे आइसकेपछि उनीहरुकै उपस्थितमा मिलापत्र भएको सुनिलको भनाइ छ । घटनापछि मिल्न र लास हस्पिटलबाट उठाएर लग्न प्रहरीले दबाब बनाएको उनले बताए। मिलापत्रको बेला जिल्ला प्रहरी कार्यालय धनुषाका कार्यशाखाका प्रहरी निरीक्षक विनयकुमार सिंहको कमाण्डको टोलि त्यहाँ उपस्थित रहेको बुझिएको छ ।
सञ्चालनको स्वीकृत नै नपाएका अस्पतालको सेवासम्बन्धि गुनासो आइरहदा पनि सम्बन्धित निकाय मौन बस्नुले अस्पताललाई थप मनोबल पुगेको छ । त्यसमाथि पनि उचित छानबिन नगरी प्रहरी मिलेमतोमा नै घटना साम्य बनाउने प्रक्रियाले निजी हस्पिटलहरु लापरबाही गरेर मान्छे मार्ने थलो बन्दै गएको छ ।