जाजरकोट, २६ कात्तिक । जाजरकोटमा भूकम्पबाट जोगिएका दुईजनाको मृत्यु भएको छ । नलगाड नगरपालिका–४ का वडाध्यक्ष बद्री पन्तका अनुसार अत्याधिक चिसोकै कारण दुई बिरामीले ज्यान गुमाएका हुन् ।
पन्तका अनुसार अत्याधिक चिसोमा उचित व्यवस्थापन हुन नसक्दा शुक्रबार ८४ वर्षीय गोपालबहादुर रावल र बिहीबार राति सोही वडाकी ४८ वर्षीया पम्फा रावलको मृत्यु भएको हो ।
गोपालबहादुर दमका बिरामी थिए भने पम्फाको निमोनियाका कारण मृत्यु भएको वडाध्यक्ष बद्री पन्तले बताए ।
‘लहँ यसै पनि असोजबाटै तुसारो पर्ने चिसो बस्ती हो,’ उनले भने, ‘त्यसमा पनि एकसरो लुगाको भरमा त्रिपालमा रात काट्नु पर्दा वयोवृद्ध गोपालबहादुरको ज्यान गएको हो ।’ भूकम्पबाट जोगिएपनि उचित व्यवस्थापनको अभावमा नागरिकले ज्यान गुमाउनु परेको भन्दै पन्तले दुःखेसो समेत पोखे ।
उनका अनुसार लहँ गाउँ समुद्र सतहदेखि झन्डै १५ सय मिटर उचाइमा पर्छ । मृतकका आफन्तसमेत रहेका स्थानीय अगुवा प्रेमबहादुर रावलका अनुसार दमका दीर्घरोगी गोपालबहादुरका चार छोरा नै मजदुरीका लागि भारत छन् । जेठा महेन्द्रको भने ६ वर्षदेखि अत्तोपत्तो छैन । एक्लै बस्दै आएका गोपालबहादुर भूकम्पले घर चर्किएपछि त्रिपालको ओत लागेर बस्दै आएका थिए ।
चिसोका कारण निमोनिया भएकी पम्फाको दल्लीस्थित नगर अस्पतालमा मृत्यु भएको हो । वडाध्यक्ष पन्तका अनुसार रावलको परिवारलाई वडा कार्यालयमार्फत मंगलबार र बुधबार त्रिपाल दिइएको थियो ।