काठमाडौं, २४ कार्तिक । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलले मुटुरोग सम्बन्धमा फेसबूक लाइभ गरेर विश्व कीर्तिमान राखेका छन् ।
डा. अनिलले गत सेप्टेम्बर २९ मा विश्व कीर्तिमान राखेका हुन् । कीर्तिमानका बारेमा जानकारी दिन शुक्रवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै डा. अनिलले सन् २०१२ देखि आफुले सुरु गरेको स्वास्थ्य सचेतना अभियानमा वल्र्ड रेकर्डले थप हौसला र आत्मविश्वास प्रदान गरेको बताए ।
डा. अनिलले फेसबूक लाइभका क्रममा मुटुरोगका विषयमा रहेर उच्च रक्तचापको विषयमा प्रस्तुति गरेका थिए । सो क्रममा अधिकतम ११ हजार २ सय १२ जना दर्शकले लाइभ कार्यक्रम हेरेका थिए ।
साथै डा. अनिलले लण्डनमा रहेको वल्र्ड बूक अफ रेकर्डस्मा पनि कीर्तिमान बनाएका छन् । उनले अतिथि वक्ता भएर सबैभन्दा लामो रेडियो कार्यक्रम गरेबापत प्रमाणपत्र पाएका छन् । डा. अनिलले सन् २०१३ र १४ मा ईमेज एफएममा सबैभन्दा लामो रेडियो कार्यक्रम श्रृंखला सञ्चालन गरेका थिए ।
डा. अनिल नेपालमा सर्वाधिक पछ्याइएका चिकित्सक हुन् । उनले आफ्ना सामाजिक सञ्जालबाट नियमित रुपमा सचेतना अभियान चलाउँदै आएका हुन् ।
‘म पनि डाक्टर’ र ‘जीवन्त सम्बन्ध’ नामक पुस्तक प्रकाशित गरिसकेका डा. अनिल नेशनल कार्डियाक सेन्टर बसुन्धराका अध्यक्ष पनि हुन् ।
भिडियो हेर्नुहोस् ।