काठमाडौँ, २४ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भूकम्पका प्रभावकारी प्रतिकार्यका लागि सम्बन्धित सरोकारवालहरुसँग समन्वय जारी रहेको बताएको छ ।
बिहिवार एक विज्ञप्ति सार्वजनिक गर्दै मन्त्रालयका प्रवक्ता ा. प्रकाश बुढाथोकीले बहुक्षेत्रीय विपद व्यवस्थापन बैठकहरूमा स्वास्थ्य क्षेत्रको प्रतिकार्यको बारेमा अध्यावधिक गर्दै विपद्पछिका दिनहरूमा देखा पर्न सक्ने महामारी, कुपोषण, मनोसामाजिक लगायतका समस्याहरूको रोकथाम तथा शिघ्र व्यवस्थापनका लागि बहुक्षेत्रीय समन्वयको लागि अनुरोध गरिएको बताएका हुन् ।
यस्तै, स्वास्थ्य क्षेत्रको प्रभावकारी प्रतिकार्यका लागि संघीय, प्रादेशिक र स्थानीयतहका सरोकारवाला निकायहरूसँग पनि निरन्तर समन्वयमा मन्त्रालय रहेको विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रालयका अनुसार, कात्तिक १७ गतेको भूकम्प भूकम्प र त्यसपछिका पराकम्पबाट भएका घाइतेहरूको वडामा रहेका स्वास्थ्य संस्था, अस्पताल, जिल्लास्थित प्रादेशिक अस्पतालहरु र रिफरल अस्पतालहरूमा उपचार व्यवस्थापन भइरहेको छ ।
हाल नलगाढ अस्पतालमा ४ जना, चौरजहारी अस्पतालमा १ जना, जाजरकोट अस्पतालमा ५ जना, आठबिसकोट अस्पतालमा १ जना, प्रादेशिक अस्पताल सुर्खेतमा २२ जना, भेरी अस्पताल नेपालगन्जमा ४९ जना, त्रि.वि. शिक्षण अस्पताल काठमाडौंमा ९ जना र राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा २ जना गरी जम्मा ९३ जना घाइतेहरूको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।