काठमाडौँ, २२ कात्तिक । स्वास्थ्यमन्त्री मोहन बस्नेतले स्वास्थ्य क्षेत्रमा राम्रो काम गरेकाले आफ्नो विरोध सुरु हुन थालेको बताएका छन् ।
बुधबार ललितपुरमा आयोजित बहुक्षेत्रीय पोषण कार्यक्रमको दोस्रो चरणको सिकाई तथा उपलब्धिको समीक्षा कार्यक्रममा मन्त्री बस्नेतले समाजमा राम्रो काम गर्न नसकेकाहरुले विरोध र गाली गर्ने गरेको भन्दै त्यसलाई प्रवाह नगरि कमीकमजोरी सुधार गर्दै अघि बढ्ने बताए ।
१६ वर्षदेखि रोकिएको स्वास्थ्य रणनीतिहरुलाई आफु मन्त्रालयमा आएपछि पास गरेको र रणनीति अनुसार काम गर्ने वातावरण बनेको उनको भनाई छ । ‘१ सय दिनमा १०७ दिन काम गरेकाले नै प्रधानमन्त्रीबाट प्रशंसा पाए’, उनले भने । सबैको सहकार्यमा स्वास्थ्य क्षेत्रलाई सुधार गरेरै छाड्ने प्रतिबद्धता जनाए ।
विश्व स्वास्थ्य दिवसका अवसरमा रंगशालामा भव्य कार्यक्रम गर्ने तयारी गरिरहेको पनि उनले जानकारी दिए ।