चितवन, २१ कार्तिक । भरतपुर अस्पतालको प्रमुख मेडिकल सुपरिटेण्डेण्टमा डा. श्रीराम तिवारी पुनः नियुक्त भएका छन् ।
मङ्गलबारको मन्त्रीस्तरको निर्णय अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालको प्रमुख मेसुमा डा. तिवारीलाई दोस्रोपल्ट नियुक्त गरेको हो ।
डा. तिवारीको नियुक्त सम्बन्धमा मन्त्रालयले काटेको परिपत्र
को हुन् डा. तिवारी ?
एघारौं तहका प्रमुख कन्सल्टेण्ट मेडिकल जनरलिष्ट डा. तिवारीलाई आर्थिक तथा प्रशासनिक अधिकार सहित भरतपुर अस्पतालको प्रमुख मेसुमा नियुक्त गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
भरतपुर महानगरपालिका १५ मंगलपुर चितवन घर भएका उनी यसअघि वीर अस्पतालमा कार्यरत थिए । त्यसअघि तिवारी गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव थिए ।
नवनियुक्त मेसु डा. तिवारीले आफूले आजै पत्र बुझिसकेको स्वास्थ्य डायरीलाई जानकारी दिए । भोलि अस्पताल आई पदभार ग्रहण गर्ने उनले बताए ।
‘भरतपुर अस्पतालमा अहिले धेरै परिवर्तन भईसकेको छ । त्यहाँ भएका विकास निर्माणका कामलाई निरन्तरता दिन्छु’, उनले स्वास्थ्य डायरीसँग भने, ‘सेवालाई गुणस्तरीय, छिटो-छरितो र अझै व्यवस्थित बनाउन थुप्रै प्रयासहरू गर्ने छु । कर्मचारी थप गर्ने लगायत केन्द्रीय र प्रदेश सरकारसँग बजेट माग गरी अस्पतालको समग्र विकासमा जोड दिन्छु ।’
भरतपुर अस्पतालमा डा. तिवारीलाई मेसु बन्ने दोस्रो अवसर
यसअघि सोही अस्पतालको ४० औँ मेसु बनिसकेका उनी अहिले अस्पतालको ४७ औँ मेसु समेत बन्ने अवसर पाएका छन् । उनी विसं २०७६ साल असार १९ गतेदेखि ०७७ साल भदौ २८ गतेसम्म मेसु बनेका थिए । उनले विश्वव्यापी रूपमा फैलिएको कोरोना कहरको बेला समेत आफ्नो जिम्मेवारी कुशलता पूर्वक सम्हालेका थिए ।
यसअघि अस्पतालको मेडिकल सुपरिटेण्डेण्ट (मेसु) प्रा.डा. कृष्णप्रसाद पौडेल थिए । उनी सोही अस्पतालमा लामो समयदेखि कार्यरत अर्थोपेडिक तथा स्पाइन सर्जन हुन् । उनी अस्पतालको समस्या, विकास निर्माणको अवस्था र गुरू योजनालगाएतका समग्र विषयमा निकै जानकार समेत छन् । जसले गर्दा सर्वसाधारणले उनी नियुक्ति भएपछि अब अस्पतालको चौतर्फी विकासको आशा समेत व्यक्त गरेका थिए ।
उनको कार्यकालमा अस्पतालको दीगो विकास, सेवा प्रवाहलाई प्रभावकारी बनाउने लगायतका अस्पतालको चौतर्फी विकास निर्माणको काम भइरहेको थियो । अस्पतालमा आवश्यक नयाँ मेडिकल उपकरण, भवन निर्माण लगायतको विकासका काम भइरहेको थियो ।
बिरामीलाई छिटो छरितो र गुणस्तरीय सेवा प्रवाहमा उनले आफ्नो ध्यान केन्द्रित गरेका थिए । टाढाबाट सेवा लिन आउने बिरामी समेतलाई मध्यनजर गरी बिहान ७ देखि साँझ ५ बजेसम्म नै ओपिडी सेवा सञ्चालनमा ल्याएका छन् । यो सेवाबाट बिमा र अन्य बिरामी समेतले सहज रूपमा सेवा पाइरहेको अस्पतालले जनाएको छ ।
उनको कार्यकालमा सेवाग्राहीलाई टिकट लिन घण्टौँ लाईन बस्नुपर्ने बाध्यतालाई हटाउन अनलाइन टिकटको व्यवस्था गरिएको छ । शल्यक्रिया गर्नुपर्ने बिरामीले लामो समय कुर्नु नपरोस् भनेर शल्यकक्ष थप गर्नुको साथै अप्रेसनको समय अवधि समेत विस्तार गरिएको छ ।
अस्पतालको सरसफाइ, भवन निर्माण, कर्मचारी व्यवस्थापन, अस्पतालको सुन्दरता, बिरामी परीक्षण समयको विस्तार, सेवा सुविधा थप गर्ने, बिमाका बिरामीलाई धेरै भन्दा धेरै औषधि दिने, अन्य बिरामीलाई सहज रूपमा सुपथ मूल्यमा औषधि उपलब्ध गराउने लगायत अस्पतालको चौतर्फी विकासमा प्रा.डा.पौडेलले जोड दिएका थिए ।
विसं २०७८ भदौ १५ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालको ४६ औँ मेसुमा प्रा.डा. पौडेललाई नियुक्त गरेको थियो । उनले २६ महिना मेसुको रूपमा आफ्नो जिम्मेवारी निभाइसकेका छन् । यो उनको दोस्रो कार्यकाल हो । उनी यसअघि सोही अस्पतालको ३८ औँ मेसु बनिसकेका थिए ।
उनी विसं २०७५ साल असोज ७ गतेदेखि ७६ साल जेष्ठ १ गतेसम्म मेसु बनेका थिए । प्रा.डा. पौडेल नेपाल चिकित्सक संघ चितवनका पूर्वअध्यक्ष समेत हुन् ।