कैलाली : जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी घाइते भएकाहरूको उपचारका लागि सुदूरपश्चिम प्रदेश सरकारले पठाएको विशेषज्ञ चिकित्सकसहितको टोलीलाई फर्काइएको छ। उनीहरुलाई तत्काल मेडिकल टिमको आवश्यकता नभएको भन्दै कर्णाली प्रदेश सरकारले सुर्खेतबाटै फर्काइदिएको हो।
सेती प्रादेशिक अस्पतालका हाडजोर्नी रोग विशेषज्ञ डा शिवराज पनेरुको नेतृत्वमा चिकित्सक ड.। गणेश फुलारा, स्वास्थ्य निर्देशनालयका विपद् सर्म्पक व्यक्ति हेमराज जोशीका र स्वास्थ्य कार्यालय कैलालीका मीनबहादुर धामीसहित चार जना स्वास्थ्यकर्मीको टोली भूकम्प प्रभावित क्षेत्रमा जानका लागि सुर्खेत पुगेको थियो।
सुर्खेत पुगेपछि कर्णालीका सामाजिक विकास मन्त्री खड्गबहादुर पोखरेल र कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रबिन खड्काले तत्काल मेडिकल टिमको आवश्यकता नभएको बताएपछि आफूहरु फर्केको जोशीले बताए।
टोलीले सुदूरपश्चिम प्रदेश सरकारका तर्फबाट पठाइएको करिब चार लाख मूल्य बराबरको औषधी कर्णालीका सामाजिक विकास मन्त्री खड्गबहादुर पोखरेललाई हस्तान्तरण गरेको थियो।