काठमाडौँ– पाटन अस्पतालमा उपचाररत दुई बिरामीको एन्टिबायोटिक औषधि दिएलगत्तै दुई बिरामीको मृत्यु भएको छ । शनिवार दिउँसो ड्युटीमा खटेकी नर्सले निमोनियाका दुई बिरामीलाई सुई मार्फत दुई एन्टिबायोटिक औषधि दिएलगत्तै ती दुवै बिरामीको मृत्यु भएको बिरामीको आफन्तको आरोप छ ।
मृत्यु हुनेमा ओखलढुंगाकी ९० वर्षीया जनमाया राई र ललितपुरका ६८ वर्षीय कृष्णबहादुर नगरकोटी रहेका छन् । यी दुईमध्ये राईमा निमोनिया भएकाले उनको अक्सिजन दिएर उपचार गरिएको थियो । त्यस्तै, नगरकोटीमा भने निमोनियासँगै कलेजोको समस्या देखिएको थियो । उनीहरु दुवैको समस्या कलेजोसंग सम्बन्धित भएकाले एउटै वार्डमा भर्ना भई उपचाररत थिए ।
उपचारपछि नगरकोटीको स्वास्थ्य अवस्था राम्रो हुँदै आएको थियो । डिस्चार्ज गर्ने भन्ने चिकित्सकको योजना थियो । तर, स्वाथ्यकर्मीले गलत औषधी दिएको कारण दुुवैको ज्यान गएको भन्दै आफन्तहरुले आक्रोशित हुँदै चिकित्सकमाथि हातपात समेत गरेका छन् ।
यता अस्प्तालले भने गलत औषधीको कारण मृत्यु भएको भन्ने कुरामा कुनै सत्यता नरहेको बताएको छ । मृत्यु हुने दुवै बिरामी पाको उमेरको भएकाले कतिपय केशमा जेष्ठ नागरिकको अचानक मृत्यु स्वभाविक हुने गरेको अस्पतालको भनाई छ । ‘कहिलेकाहीँ रगतको ढिक्का उछिट्टएिर, अचानक मुटुको घड्कन अनियन्त्रित भई मृत्यु भएको हुनसक्छ’, अस्पतालका मेडिसिन विभागका प्रमुख डा. युवराज शर्माले भने । यसका लागि औषधि मात्रै जिम्मेवार हुन नसक्ने उनको दाबी छ ।
यस्तै, अस्पतालका निर्देशक डा. रवि शाक्यले पनि दुवै बिरामीको संगै मृत्यु हुनु संयोग मात्रै हुन सक्ने बताए । ‘नर्सले औषधि दिइसकेपछि तुरुन्तै ५ मिनेट भित्र नै दुवैको मृत्यु भएको थियो । त्यसकारण पनि बिरामीको आफन्तलाई शंका उत्पन्न भएको हो,’ शाक्यले भने, ‘औषधिकै कारणले मृत्यु नभएकोमा हामी विश्वस्त छौं । यद्यपि हामी पनि के कारण भयो भन्ने कुरा जान इच्छुक छौं ।’यसका लागि औषधि समेत परीक्षण गर्न पठाएको उनले बताए ।
हातपात विरुद्व आवासीय चिकित्सक आन्दोलनमा
गलत औषधिका कारण बिरामीको मृत्यु भएको भन्दै आफन्त आक्रोशित हुँदै हातपात र दुर्व्यवहार गरेपछि पाटन अस्प्तालका आवासीय चिकित्सक आन्दोलनमा उत्रिएका छन् ।
चिकित्सकमाथि हातपातका कारण हाल कार्यस्थलमा काम गर्ने वातारण सुरक्षित नभएको उनीहरुको भनाई छ । हातपात गर्ने व्यक्तिलाई पक्राउ नगरेसम्म आकस्मिकबाहेकका सबै सेवा अवरुद्व गर्ने उनीहरुको चेतावनी समेत दिएका छन् ।
यसैगरि, नेपाल चिकित्सक संघले पनि उक्त घटनाप्रति आपत्ति जनाउँदै चिकित्सकमाथि हातपात गर्नेलाई कारवाहीको माग गरेको छ ।