काठमाडौँ, २० कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्की यतिबेला भूकम्पले क्षतिग्रस्त बनाएको जाजरकोट बस्तीमा छिन् ।
शुक्रवार राति गएको भूकम्पले क्षतिग्रस्त बनाएलगत्तै उनी विभिन्न विज्ञको टोलीका साथ जाजरकोट पुगेकी हुन् । भूकम्पले विनाश निम्त्याएको स्थानलाई नजिकबाट नियालीरहेकी उनले हाल जाजरकोटवासीलाई स्यानीटेरी प्याडदेखि जीवनजलसम्मको आवश्यकता रहेको बताएकी छन् ।
सामाजिक सञ्जालमार्फत आपतकालीन व्यवस्थापनपछी अव्यवस्थित बसाई, अस्वस्थ रहनसहनले महामारी फैलन सक्ने बताउँदै उनले पानी शुद्द गर्ने पीयुसदेखि स्यानीटेरी प्याडसम्मका वस्तुको आवश्यकता रहेको जनाएकी छन् ।
‘राहतमा के लैजाने अन्योलमा हुनुहुन्छ ?आपतकालीन व्यवस्थापन पछी अब जोखिम भनेको अव्यवस्थित बसाई, अस्वस्थ रहनसहनले महामारी फैलन सक्छ्र । पानी शुद्ध गर्ने पीयुस, वाटर गार्ड, स्यानीटेरी प्याड, ह्यान्ड स्यानिटाईजर, ह्याण्ड वास, हात धुने साबुन अस्थायी शौचालय, अस्थायी डस्टबीन, जीवनजल । यी सामाग्रीहरु यहाँ अभाव छ’, उनले लेखेकी छन् ।
यस्तै डाक्टर कार्कीले विभिन्न कारणवश् राहत पिडितसमक्ष पुग्न नसकेको जनाउँदै यथाशिघ्र राहत वितरण गर्न आग्रह समेत गरेकी छन् ।