काठमाडौँ, १९ कात्तिक । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतले भूकम्पका घाइतेको उपचारका लागि वीर अस्पताल र ट्रमा सेन्टर तारी अवस्थामा रहेको बताएका छन् । शुक्रवार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट घाइतेको उपचारका लागि दुवै अस्पतालले तयारी गरेको उनको भनाई छ ।
बिरामीका लागि एम्बुलेन्सहरुलाई त्रिभुवन विमानस्थलमा पठाइएको र वीर तथा ट्रमा सेन्टरमा इमरजेन्सी, ओटी र आईसीयू तयारी अवस्थामा राखिएको उनले जनाए ।
‘घाइते उपचाका लागि ट्रमा सेन्टरका इमरजेन्सी ३८ बेड र आईसीयू तथा ओटी वीर र ट्रमाका दुबै तयारी अवस्थामा छन्,’ उपकुलपति प्राडा बस्नेतले भने।
उनले वीर अस्पतालबाट डा खुस्बु झाको नेतृत्वमा भूकम्प प्रभावित क्षेत्रमा चिकित्सक टोलीले हिजै जाजरकोट अस्पताल पुगेर काम सुरु गरेको जानकारी समेत दिए ।