काठमाडौँ, १६ कात्तिक । सामाजिक सञ्जालमा भाइरल नितु दुवालको मृत्युबारे ख्वप अस्पतालले मुख खोलेको छ ।
बिहिवार अस्पतालका निर्देशक डा. मजेश पताप मल्लले एक विज्ञप्तिमार्फत केही दिनदेखि सामाजिक सञ्जालमा भाइरल चिकित्सकको गलत औषधी सुझावका कारण २१ वर्षीय दुवालको मृत्यु भएको भन्ने कुराको खण्डन गर्दै दुवालको मृत्युबारे स्पष्टिकरण दिएका हुन् ।
‘नितु दुवाल २०८० असार २१ गते ख्वप अस्पतालबाट रिफर भई बिरामीको भाद्र ३१ गते अस्पतालमा मृत्यु हुँदा समेत अस्पतालमा मृत्यु भएको भनी गलत प्रचार गर्नुबाट यो नियोजित हो भन्ने प्रष्ट हुन्छ’, विज्ञप्ति उल्लेख छ ।
डन्डीफोर उपचारका लागि अस्पताल आएका उनलाई सम्बन्धित चिकित्सकले खाने औषधि, मलम र फेसवास दिएर दुई हप्तापछि फ्लोअपमा बोलाएको अस्पतालले जनाएको छ । ‘श्रावण २ गते उनी डा. नितु मानन्धरको ओपिडि भएता पनि छालारोग विभागमा नै गएर फलोअप गरेकी थिइन्’, विज्ञप्तिमा लेखिएको छ ।
अस्पतालका अनुसारअघिल्लो दिनदेखि सामान्य ज्वरो आएको भन्ने उनले छालारोग विशेषज्ञलाई बताएपछि डण्डिफोरसम्बन्धी औषधि यथावत खाने र जनरल डाक्टरलाई भेट्न आग्रह गरियो। सोही अनुसार जनरल डाक्टरले ज्वरोको लागि पारासिटामोल र भिटामिन दिए। उनलाई श्रावण १२ गते उक्त अस्पतालको ईमर्जेन्सी विभागमा रातको २ बजे ज्वरो आएको भनी ल्याइयो। सम्पूर्ण जाँचहरु पश्चात् उनलाई भर्ना हुन आग्रह गरियो तर विदेश अध्ययनका लागि परीक्षा भएको कारण देखाई उनी राती ३ः३० बजेनै घर गइन्।
सो परीक्षणमा पिसाबमा खराबी देखिएको अस्पतालले जनाएको छ। डाक्टरको सल्लाह विपरीत बिरामीलाई घर लगेर पुनः श्रावण १४ गते ल्याइएकोमा पिसाबको परीक्षणमा किटाणु देखिएको र सोही अनुरुप औषधिहरु चलाई वार्डमा भर्ना गरिएको अस्पतालको भनाइ छ। यसैगरी श्रावण १७ गतेका दिन पुनः बिरामी र परिवारका सदस्यहरुको आग्रह अनुसार उनलाई घर पठाइएकोमा १८ गते फेरि अस्पतालमा ल्याइएको बताइएको छ।
यस्तै, स्वास्थ्यमा समस्या देखिएपछि भर्ना भई उपचार चल्दाचल्दै श्रावण २१ गते परिवारकै आग्रहमा उनलाई रिफर गरिएको अस्पतालले जनाएको छ ।
यता मृतकका परिवारले भने गलत चिकित्सक र औषधिका कारण नितुको मृत्यु भएको भन्दै सो विरुद्व कानुनी प्रक्रियामा जाने बताएको छ ।
यस्तो छ अस्पतालद्वारा जारी विज्ञप्ति