काठमाडौँ, १५ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अन्ततः ‘लेड’ सम्बन्धी विवादित विज्ञप्ति सच्याएको छ ।
बुधवार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले मन्त्रालयद्वारा यसअघि लेड(सिसा) सम्बन्धि सार्वजनिक विज्ञप्तिप्रति केही सरोकारवालाहरुको बुझाई अन्यथा हुन गएकोमा ध्यानाकर्षण भएको बताएका छन् ।
‘उक्त विज्ञप्ति सम्बन्धित परिषद्मा दर्ता भएका चिकित्सक एवम् स्वास्थ्यकर्मीहरुको परामर्शमा सेवन गर्ने औषधी व्यवस्था विभागमा दर्ता भएका औषधीहरु तथा नेपाल गुणस्तर चिन्ह प्राप्त पेन्ट, श्रृङ्गारका सामाग्री, नुयल्सको रुपमा नभई जथाभावी रुपमा शरीरमा दुष्प्रभाव पार्ने सम्भावना धएका जडीबुटी, गहृौ धातु, खनिज पदार्थहरु रहेका पेन्ट, श्रृङ्गारका सामग्री, नुडल्स बारेमा जारी गरिएको जानकारी गराउन चाहान्छौ’, विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रालयले विषाक्त सिसाको बचावटका लागि अन्तर्राष्ट्रिय सचेतना सप्ताहका अवसरमा आइतबार जारी गरेको पहिलो विज्ञप्तिमा आयुर्वेदिक औषधिमा विषाक्त ‘लेड’ मिसिने गरेको र यसका सेवनकर्ताको रगतमा सिसाको मात्रा बढी पाइएको उल्लेख गरेको थियो ।
सोको चौतर्फी आलोचनापछि मन्त्रालयले उक्त विज्ञप्ति लुसुक्क फेसबूक पेजबाट नै हटाएको थियो । त्यसपछि भाषा सच्याउँदै मन्त्रालयले आयुर्वेदिक औषधिको ठाउँमा केहि दर्ता नभएका आयुर्वेदिक औषधि भनेर पुनः अर्काे विज्ञप्ति जारी गरेको थियो ।