काठमाडौं, १५ कार्तिक । विश्व स्वास्थ्य संगठन ( डब्लुएचओ) को दक्षिणपूर्वी एशिया निर्देशकमा बंगालादेशको प्रधानमन्त्रीकी छोरी समेत रहेकी सैमा वाजिद निर्वाचित भएकी छिन् ।
नयाँ दिल्लीमा भएको क्षेत्रीय सभा अन्तर्गत आज सम्पन्न निर्वाचनमा म्यानमार बाहेक १० देशका प्रतिनिधि सहभागी भएका थिए ।
वाजिदले १० मध्ये ८ भोट पाएकी छिन् भने उनका प्रतिस्पर्धी नेपालका डा. शम्भूप्रसाद आचार्यले २ मतमात्र पाएका छन् ।
नयाँ निर्देशकमा मनोनित वाजिद विश्व स्वास्थ्य संगठनमा मानसिक रोग विज्ञको रुपमा कार्यरत छिन् । उनको मनोनयनलाई आउँदो जनवरीमा हुने विश्व स्वास्थ्य संगठनको महासभाले अनुमोदन गर्नेछ ।
नेपालबाट विश्व स्वास्थ्य संगठनको उच्च भूमिकामा पुगेका आचार्यलाई क्षेत्रीय निर्देशक बनाउन सरकारले यसअघि देखि नै पहल गरेपनि सदस्य राष्ट्रहरुको साथ नपाउँदा सफल हुन नसकेको हो ।
नवनिर्वाचित वाजिद बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजिदको छोरी पनि भएकाले उनलाई सदस्य राष्ट्रका राजनीतिक नेतृत्वको साथ रहेको अनुमान गरिएको छ ।