डडेल्धुरा: डडेल्धुरामा एकैदिन एक सय ७३ जना कर्मचारी अनुपस्थित रहेको पाइएको छ। हिजो (मंगलबार) जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जिल्लास्थित २९ सरकारी कार्यालयमा छड्के अनुगमन गर्दा ९ कार्यालयका कार्यालय प्रमुखसहित ती कर्मचारी गयल भएको पाइएको हो।
हिजो प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेको निर्देशनमा यहाँका कार्यालयमा छड्के अनुगमन गरिएको थियो। जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा चन्द्रबहादुर रोकायाका अनुसार २९ कार्यालयका एक सय ७३ जना कर्मचारी अनुपस्थित रहेको पाइएको हो। जसमा डडेल्धुरा अस्पतालका मात्रै ९२ जना कर्मचारी रहेका छन्।
त्यसैमा ९ कार्यालयका कार्यालय प्रमुख समेत अनुपस्थित रहेको पाइएको छ। स्वास्थ्य कार्यालयका प्रमुख केशरबहादुर साउद, जिल्ला आयुर्वेद कार्यालयका प्रमुख निशान्त शर्मा, यातायात व्यवस्था सेवा कार्यालयका प्रमुख हर्ष रोका, , ग्रामीण उद्यम तथा आर्थिक करिडोर कार्यालयका प्रमुख द्रोण बुढाथोकी अनुपस्थित रहेको रोकायाले जानकारी दिए।
यस्तै, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यालयका प्रमुख धुर्वराज जोशी, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख गणेशकुमार रोका, पूर्वाधार विकास कार्यालयका प्रमुख नवराज रावल, नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र डडेल्धुराका प्रमुख रमेश अवस्थी र प्रदेश कोलिनिकाका प्रमुख चेतराज जोशी रहेको उनले बताए।
अनुपस्थित कर्मचारीलाई प्रशासनले गयल हुनुको कारणसहित तीन दिन भित्र स्पष्टीकरण पेश गर्न निर्देशन समेत दिएको छ।