काठमाडौँ, १३ कात्तिक । जनस्वास्थ्य सेवा ऐन,२०७५ को दफा ६४ ले दिएको अधिकारमार्फत नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नीतिगत, संरचनागत,स्रोतगत व्यवस्था गरि वीर अस्पतालमा सामाजिक सेवा इकाईको स्थापना गरेको छ । यस इकाईले गरिब तथा विपन्न वर्गलाई निःशुल्क र सहुलियत उपचार सेवा प्रदान गर्दै आएको छ ।
सरकारले दिएको सहुलियत तथा निःशुल्क स्वास्थ्य उपचारबारे जानकार हुनु प्रत्येक नागरिकको अधिकार पनि हो । यसको मूल उद्देश्य भनेकै लक्षित समूहका बिरामीहरूको स्वास्थ्य सेवामा समतामूलक पहुँच एवम् उपयोग वृद्धि गर्ने भएपनि यसबारे उचित जानकारीको अभावमा भने लक्षित समूह यी सेवाबाट वञ्चित भएको पाइन्छ । उसोभए निःशुल्क वा सहुलियत रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने लक्षित समूह को हुन् ?
वीर अस्पतालको सामाजिक सेवा एकाइबाट निःशुल्क वा सहुलियत रूपमा स्वास्थ्य सेवा पाउने समूहहरु यसप्रकार छन् :
-गरीब
-असहाय
-अपाङ्गता भएका व्यक्ति
-ज्येष्ठ नागरिक
-लैंङ्गिक हिंसा पीडित (बालबालिकासमेत)
-महिला स्वास्थ्य स्वयंसेविका
-प्राकृतिक प्रकोप (भूकम्प, बाढी, पहिरो, आगलागी आदि)
-शहिद परिवार
-कुपोषित बालबालिका
-प्रहरीले ल्याएका थुनुवा
-दुर्घटनामा परेका आकस्मिक बिरामी (अभिभावक नभएको)
-सिमान्तीकृत तथा लोपोन्मुख आदिवासी, जनजाति ।