काठमाडौं, ११ कार्तिक । विश्व स्वास्थ्य संगठनको दक्षिणपूवी एशिया निर्देशकका लागि आउँदो साता मतदान हुने भएको छ ।
आगामी सोमवारदेखि (अक्टोवर ३० देखि नोभेम्वर २) बुधवारसम्म दिल्लीमा हुने संगठनको दक्षिणपूर्वी एशिया कमिटिको वार्षिक सभाले ५ वर्षका लागि नयाँ क्षेत्रीय निर्देशक चुन्नेछ । उक्त सभाले चुन्ने नयाँ निर्देशकलाई आउँदो जनवरीको अन्तिम साता जेनेभामा हुने विश्व स्वास्थ्य संगठन कार्यकारी समितिको बैठकले अनुमोदन गर्नेछ ।
दक्षिणपूर्वी एशियाको क्षेत्रीय निर्देशकका लागि यसपटक नेपालले पनि मनोनयन पेश गरेको छ । नेपालका तर्फबाट डा. शभ्मूप्रसाद आचार्यलाई निर्देशकको पदमा प्रतिस्पर्धा गराउन लागिएको हो । विश्व स्वास्थ्य संगठनको मुख्यालयमा कार्यरत आचार्यलाई अनुभवी जनस्वास्थ्य विज्ञका रुपमा हेरिएको छ ।
११ वटा देश समेट्ने दक्षिणपूर्वी एशिया क्षेत्रको निर्देशक चयन गर्न ११ वटै देशका स्वास्थ्यमन्त्रीले मतदान गर्नेछन् । यस क्षेत्रमा नेपाल, भारत, भुटान, श्रीलंका, मालदिभ्स, म्यानमार, थाइल्याण्ड, बंगलादेश, उत्तर कोरिया, इन्डोनेसिया र टिमोर लिस्टे रहेका छन्।
डा. आचार्यसँग क्षेत्रीय निर्देशकका लागि प्रतिस्पर्धा गर्न बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा वाजिदले पनि उम्मेदवारी दर्ता गराएकी छिन् । जनस्वास्थ्यका क्षेत्रमा आचार्यको योगदान बढि भएपनि वाजिज उच्च राजनीतिक परिवारको व्यक्ति भएकाले निर्देशक पद कसको पोल्टामा पर्छ भन्ने जिज्ञासा बढेको छ ।
नेपालले आचार्यलाई जिताउन क्षेत्रका सदस्य राष्ट्रहरुसँग पहल गरेपनि भारत, भुटान, माल्दिभ्स लगायत देशहरुले नै हालसम्म कसको पक्षमा जाने भन्ने तय नगरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले स्वास्थ्य डायरीलाई जानकारी दिए ।
तीनदिने क्षेत्रीय सभामा भाग लिन आइतवार स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेत दिल्ली जाँदैछन् । स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल लगायत पनि दिल्ली जाने कार्यक्रम तय भएका बुढाथोकीले जानकारी दिए ।
सभामा नयाँ निर्देशकका लागि मतदान हुनुका साथै मुटुरोगको रोकथाम र नियन्त्रण, बेवास्ता गरिएका सरुवारोगको अन्त्य र क्षेत्रीय स्वास्थ्य सुरक्षाका बारेमा सदस्य राष्ट्रका अधिकारीहरु बीच छलफल हुनेछ ।