काठमाडौँ, ३ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाका दिन पनि अस्पतालका आकस्मिक सेवा र एम्बुलेन्स तयारीका अवस्थामा राख्न निर्देशन दिएको छ ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले सार्वजनिक बिदाका दिनमा आकस्मिक स्वास्थ्य सेवाका लागि चिकित्सकीय समूह (इएमटी), आधारभूत आकस्मिक मेडिकल प्राविधिक (बिइएमटी) तथा एम्बुलेन्स आदि तयारी अवस्थामा राख्न सरोकारवालाहरुलाई निर्देशन दिएका हुन् ।
‘सार्वजनिक विदाका दिनमा पनि अस्पतालहरुमा आकस्मिक स्वास्थ्य सेवा उपलब्धताको सुनिश्चितताका साथै आकस्मिक चिकित्सकीय समूह ९ईएमटी०, आधारभूत आकस्मिक मेडिकल प्राविधिक (बीईएमटी), एम्बुलेन्स आदि तयारी अवस्थामा राख्नुहुन तथा राख्न लगाउनुहुन यसै विज्ञप्तीमार्फत सम्बन्धित सरोकारवाला निकायहरुमा अनुरोध गर्दछौं,’ विज्ञप्तीमा उल्लेख छ ।
यसैगरी, मन्त्रालयले दशैं, तिहार र छठ पर्वको शुभकामना दिँदै चाडपर्वका समयमा असन्तुलित खानपान तथा जीवनशैलीका कारण स्वास्थ्यमा समस्या देखिन सक्ने भन्दै स्वास्थ्यमैत्री जीवनशैली आत्मसाथ गर्नमा जोड दिएको छ ।
र, स्वास्थ्य सेवा सम्बन्धी जानकारी आवश्यक भएमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको हटलाइन नम्बरहरू ‘१११५’ र ‘११३३’ मा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ ।