काठमाडौं । २०३१ सालमा तत्कालिन अखिल नेपाल चिकित्सक संघको सातौं अधिवेशन जनकपुरमा गर्ने तय भएपनि हुनसकेन । चैत्र २० देखि २३ गतेसम्म अधिवेशन काठमाडौंमा आयोजना गरियो । राजा विरेन्द्रले उद्घाटन गरेको उक्त अधिवेशनमा संघले आफ्नो रजतजयन्ती पनि मनाएको थियो ।
डा. तुलसी गिरी भर्खरै प्रधानमन्त्री नियुक्त भएका थिए । तत्कालिन समयमा सरकारले स्वास्थ्य क्षेत्रमा देखिएका समस्यालाई एकीकृत गरि ‘स्वास्थ्य समस्या अनुसन्धान समिति गठन’ गरेको थियो । सो समितिले माग बमोजिम २०३२ साल असारमा १६ बुँदे माग सहितको सुझाव पेश गरेको थियो । स्वास्थ्य डायरीलाई प्राप्त दस्तावेजमा उल्लेख भएअनुसार सोही समय चिकित्सकले माग गरेका अधिकांश विषय सम्बोधन भइसकेका छन् भने केही विषयमा अझै समस्या कायम छ ।
जसमा नेपाल चिकित्सक संघले गठन गरेको समितिले चिकित्सकको न्यूनतम पारिश्रमिक ९०० (नौ सय) पुर्याउनै पर्ने माग गरेको थियो । उनीहरुले तत्कालिन समयमा बढ्दो महंगीको कारण देखाएर तलबस्केल ९ सय पुर्याउन माग गरेका थिए ।
नेपालको पहिलो सर्जनका रुपमा चिनिने स्वर्गीय डा. अञ्जनी कुमार शर्मा अध्यक्ष रहेको चिकित्सक संघलाई सो समयमा नेपालीमा पनि नेपाल मेडिकल एशोसियसन भन्ने गरिन्थ्यो ।
एशोशियशनले पहिलो नम्बरमा तलब बढाउन माग गरेको छ भने, दोश्रो बुँदामा प्राइभेट प्राक्टिस कम्पेन्सेसन भत्ता माग गरेको छ । अस्पतालमा ड्यूटी गर्नेले निजी कार्य गर्न नपाउने भन्दै सो भत्ता मागिएको थियो । जुन अचेल ननप्राक्टिसिङ् भत्ताका रुपमा सरकारी चिकित्सकले पाउँदै आएका छन् ।
त्यस्तै संघले तेश्रो मागका रुपमा दुर्गम स्थान भत्ता उपलब्ध गराउन पनि माग गरेको छ । दुर्गम स्थानमा जाँदा सय प्रतिशतदेखि ३ सय प्रतिशतसम्म दुर्गम भत्ता दिनुपर्ने संघको जिकिर थियो ।
१६ बुँदाको चौथो बुँदामा डाक्टरका लागि आवास भत्ता माग गरिएको थियो । डाक्टर खटिएर जाने ठाउँमा डाक्टरलाई बस्ने व्यवस्था वा सो नभएमा आवास भत्ताको व्यवस्था गर्न चिकित्सक संघले माग गरेको थियो ।
बालबच्चाको शिक्षा खर्च र दैनिक भ्रमणभत्ता पनि
सरकारलाई मागपत्र बुझाएको चिकित्सक संघले चिकित्सकका बालबच्चालाई पढाउन शिक्षा भत्ता पनि माग गरेका थिए । चिकित्सक खटिएको ठाउँमा पढ्ने उचित प्रबन्ध नहुने भएकाले बालबच्चालाई गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षाको भत्ता माग गरिएको संघको दलील थियो ।
त्यस्तै संघले सरकारसँग दैनिक भ्रमण भत्ता अपर्याप्त भएकाले भएको रकमलाई बढाएर दोब्बर बनाउन माग गरेका थिए ।
सोही समयमा संघले हजाडर्स प्रोफेसन एलाउन्स माग गरेको थियो । रेडियोलोजी विभाग, सरुवारोगका युनिटमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, प्याथोलोजी, माइक्रोबायोलोजी तथा एनेस्थेसीयामा काम गर्नेहरुलाई जोखिम भत्ता दिन संघले माग गरेको थियो ।
उच्च शिक्षा पढने अवसरदेखि महेन्द्र विद्या भूषणको माग
सो समयमा चिकित्सक संघलाई स्वास्थ्य क्षेत्र सुधार गर्न सुझाव माग गरिएकाले पनि उनीहरुले पञ्चायत सरकारसँग धक फुकाएर माग गरेको देख्न सकिन्छ । चिकित्सक संघले चिकित्सकलाई विशिष्ट श्रेणी पद सिर्जना गरेर स्वास्थ्यको प्रशासकीय नेतृत्वको अवसर दिनुपर्ने बताएको थियो । संघले यसका लागि मापदण्ड बनाएर चिकित्सकलाई महानिर्देशक बनाउन माग गरेको थियो ।
यस्तै एशोसियसनले ५ वर्ष सेवा गरिसकेका चिकित्सकलाई थप अध्ययन गर्न विदेश जान दिनुपर्ने माग पनि अघि सारेको थियो । समान तहमा रहेका प्रशासकीय व्यक्तिहरुबाट समान आदर र शिष्टाचार पाउनुपर्ने पनि संघको माग थियो ।
अर्को रोचक माग भने चिकित्सक संघल त्यतिबेला स्नातकोत्तर वा स्नातक गरेका चिकित्सकलाई वर्षेनी महेन्द्र विद्या भूषण दिइनुपर्ने माग गरेका थिए । त्यस्तै चिकित्सकहरुले आकस्मिक उपचारको व्यवस्थाको पनि माग गरेका थिए । दुर्गममा गएका चिकित्सक बिरामी भएमा आकस्मिक उपचारको व्यवस्था सरकारले मिलाउनुपर्ने चिकित्सकहरुको माग रहेको छ ।
७ रुपैयाँ परामर्श शुल्क लिएर पेइङ् क्लिनिक चलाउन माग
डाक्टरहरुले पेइङ् क्लिनिक चलाउने र त्यसबाट जम्मा हुने रकम क्लिनिकमा काम गर्ने सबैलाई वितरण गर्ने भन्दै परामर्श शुल्क ७ रुपैयाँ बनाउन माग गरेको थियो । हाल सबै सरकारी अस्पतालमा पेइङ् क्लिनिक सञ्चालन भएको । संघले माथि माग गरेका सबैजसो भत्ता चिकित्सक र स्वास्थ्यकर्मीले पाएका छन् । तर, संघले सो समयमा माग गरेझैं पारिश्रमिक बढाउनुपर्ने, दरबन्दी बढाउनुपर्ने, परामर्श शुल्क बढाउनुपर्ने जस्ता मुद्दाहरु भने अहिलेपनि उस्तै छ ।