

काठमाडौं – धुलिखेल अस्पतालले आगामी भदौ १ गतेदेखि बहिरङ्ग सेवा (ओपीडी) मार्फत स्वास्थ्य बीमा कार्यक्रम पुनः सञ्चालन गर्ने भएको छ। अस्पताल प्रशासनले शुक्रबार सूचना जारी गर्दै नेपाल सरकारको स्वास्थ्य बीमा बोर्डबाट परिमार्जित स्वास्थ्य बीमा थैली, आर्थिक सहजता तथा भुक्तानी सुनिश्चित हुने आश्वासन प्राप्त भएपछि सेवा पुनः सञ्चालन गर्न लागिएको जनाएको छ।
अस्पतालका अनुसार स्वास्थ्य बीमा सेवा हालका लागि ओपीडी सेवामा मात्रै उपलब्ध हुनेछ। नेपाल सरकारका कार्यालय बन्द हुने दिन, आइतबार तथा सार्वजनिक बिदाका दिन भने स्वास्थ्य बीमा सेवा सञ्चालन हुने छैन।
स्वास्थ्य बीमा सेवा लिन आउने सेवाग्राहीले यसअघि प्रथम सेवा विन्दुबाट जारी गरिएको रिफरल पुर्जी अनिवार्य रूपमा साथमा ल्याउनुपर्ने अस्पतालले जनाएको छ।




