काठमाडौँ, ३ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको अन्र्तराष्ट्रिय भ्रमण स्वीकृत भएको छ । बिहिवार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्री बस्नेतको भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिएकी हुन् ।
यससंगै मन्त्री बस्नेतले दुई साताको अन्तरमा दुई अन्तराष्ट्रिय फोरममा सहभागिता जनाउने भएका छन् । जसमा उनी आगामी १३ देखि १६ कात्तिकसम्म भारतको नयाँ दिल्लीमा हुने विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एशिया क्षेत्रको ७६ औँ सभामा हुनेछन् ।
सो कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै मन्त्री बस्नेतसंगै स्वास्थ्य सचिव डा रोशन पोखरेल तथा अतिरिक्त स्वास्थ्य सचिव डा विकास देवकोटाको समेत सहभागिता रहनेछ ।
यस्तै उक्त सभापश्चात् बस्नेत पुनः थाइल्याण्ड प्रस्थान गर्नेछन् । नेपाली मितिअनुसार आगामी २९ कात्तिक देखि १ मंसिरसम्म हुने ‘सेभेन्थ एसियन एण्ड प्यासिफिक पपुलेसन कन्फ्रेन्स’मा सहभागी हुन त्यसतर्फ लाग्ने भएका हुन् ।
उक्त कन्फ्रेन्स थाइल्याण्डको बैंककमा हुने जनाइएको छ । त्यहाँ बस्नेतसंगै सचिव देवकुमारी गुरागाईलाई समेत मन्त्रिपरिषद्ले भ्रमण स्वीकृत दिएको छ ।