काठमाडौँ, २ कात्तिक । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज अस्पतालले आज दिउँसो एक सूचना जारी गर्दै उनको स्वास्थ्य सुधारोन्मुख रहेको जानकारी दिएको
‘उहाँ पूर्ण होसमा हुनुहुन्छ, स्वास्थ्यमा सुधार भइरहेको महत्वपूर्ण सङ्केत देखिएको छ’, अस्पतालद्वारा जारी सूचनामा भनिएको छ । उपप्रधानमन्त्री श्रेष्ठलाई निगरानीका लागि सघन उपचार कक्षमा राखिएको अस्पतालले जनाएको छ ।
उपप्रधानमन्त्री श्रेष्ठलाई भएको के हो ?
छातीमा दुखाइ भएपछि उपचारका लागि आकस्मिक कक्षमा पुगेका उपप्रधानमन्त्री श्रेष्ठलाई ‘एक्युट मायोकार्डियल इन्फ्रयाक्स’ भएको अस्पतालले जनाएको छ । आम रुपमा हृदयघात भनिने यसका लागि श्रेष्ठको कोरोनी एजियोग्राम गरेर छातीको जाँच गरिएको थियो । जाँचका क्रममा उनको मुटुको बाँया धमनी बन्द भएको देखिएपछि ‘स्टेन्ट’ राखिएको अस्पतालले जनाएको छ ।
‘तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ)’मा सहभागी हुन चीनको बेइजिङ पुगेका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई गए राति हृदयघात भएको थियो ।
चीन सरकार तथा चिनियाँ कम्युनिस्ट पार्टीका उच्च अधिकारीहरूले उच्चतम प्रविधि अपनाउन र उनको उपचारमा विशेष ध्यान दिन अस्पताल प्रशासनलाई निर्देशन दिएको बताइएको छ । चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले उनलाई भेटेर स्वास्थ्यलाभको कामना गरेका छन् । उनका अनुसार उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था राम्रो रहेको र दोहोरो संवाद गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डद्वारा मन्त्रिपरिषद्लाई जानकारी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को बैठकमा गृहमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे ‘ब्रिफिङ’ गरेका छन्।
बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीले चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी गराएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताएकी हुन् ।