काठमाडौँ, २ कात्तिक । बसुन्धरास्थित सञ्चालित एक निःशुल्क स्वास्थ्य शिविर नेपाल मेडिकल काउन्सिलले बन्द गराएको छ । बसुन्धराको अनन्त आशा मण्डली (चर्च) मा हिजोदेखि सञ्चालित उक्त शिविर बिहिवार काउन्सिलको टोलीले अनुमति नलिएको भन्दै बन्द गराएको हो ।
तीन दिनका लागि भनेर बुधवारदेखि सञ्चालनमा आएको शिविरमा दक्षिण कोरिया, अमेरिका लगायत विभिन्न देशबाट आएका भनिएका १२ – १५ जना विदेशीहरुले चिकित्सकको भूमिकामा सेवा दिएका थिए । यद्यपि काउन्सिलका व्यवसायिक आचरण समिति संयोजक डा कालुसिंह खत्रीको नेतृत्वमा गएको अनुगमन टोलीले शिविरमा खटिएका विदेशी चिकित्सकले अनुमति नलिएको बताएको छ ।
सो दिने व्यक्तिहरु वास्तविक चिकित्सक हुन् की होइनन् ? भन्ने पहिचानका लागि काउन्सिलले डाक्टर भनिएका सो टोलीलाई प्रमाण ल्याउन भनेको छ । आवश्यक कागजात एवम् विवरण नजुटेको खण्डम सो अनुरुप कारवाही प्रक्रिया अघि बढाइने काउन्सिलले जनाएको छ ।
शिविरमा अनुगमन टोली जाँदा सेवा लिने भनेर गएका सर्वसाधारणहरुको भिड थियो। शिविर बन्द भएपछि भने उनीहरु फर्केका छन्।