काठमाडौँ, १ कात्तिक । संयुक्त राष्ट्रसंघले गाजाको अस्पतालमा भएको हमालाको निन्दा गरेको छ ।
गएराति गाजास्थित एआई अलि बप्लिस्ट अस्पतालमा भएको हमालामा परी ५०० जनाले ज्यान गुमाएपछि राष्ट्रसंघका मानव अधिकार प्रमुख भोल्कर टर्कले एक विज्ञप्ति जारी गर्दै सोको निन्दा गरेका हुन् ।
उनले सयौं मानिसको ज्यान जाने गरिएको सो आक्रमण भयभीत रहको बताएका छन्। ‘गाजाको एक अस्पतालमा आज भएको हमलामा सयौं प्यालेस्टिनी नागरिकको हत्याबाट म त्रसित छु, जसको म घोर निन्दा गर्दछु’, उनले भनेका छन्, ‘मेरो हृदय पीडित परिवारहरुसंगै छ। अस्पताल र चिकित्सा कर्मचारीहरु अन्तर्राष्ट्रिय मानवीय कानून अन्तर्गत सुरक्षित छन् ।’
मंगलबार इजरायलले गाजाको अस्पतालमा हमला गरेको थियो । यद्यपि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने उक्त घटना इजरालले गराएको भन्ने कुराको पूर्ण खण्डन गरेका छन् । अस्पतालमा इजरायलको युद्धबाट विस्थापित भएकाहरूले आश्रय लिइरहेका थिए । आक्रमणमा परी ५०० जनाले ज्यान गुमाएको त्यहाँका स्वास्थ्य मन्त्रालयले बताएको छ । हाल भग्नावशेष पन्छाएर शव निकाल्ने क्रम जारी रहेकाले मृत्यु हुनेको संसंख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
गत २० असोजमा हमासले पूर्व सूचनाबिना नै इजरायलमा आक्रमण गरेपछि इजरायल–हमासबीचको युद्व चर्किएको हो । तयारी अवस्थामा नरहेकाले इजरायलले त्यतिबेला आफ्ना १३०० नागरिकको मृत्युको सामना गर्नुपरेको थियो भने हमासले अझैपनि सयौँ संख्यामा इजरायली नागरिकलाई बन्दी बनाई राखेको छ ।
बदलामा इजरायलले पनि हमासलाई आक्रमण गरेको छ । उक्त आक्रमणमा परी झण्डै २८०० प्यालेस्टाइनीहरुको मृत्यु भएको विभिन्न अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ ।