काठमाडौँ, १ कात्तिक । सामान्यतया नेपालीको भान्छामा चाडपर्व तथा रमझममा पाक्ने भनेकै मासु र तिनका परिकारहरु हुन् । यस समयमा अधिकांशको घरमा खाइने सबै खानाहरुमा मासु समावेश भएका हुन्छन् ।
हुन त मासुजन्य परिकार प्रोटिनको उचित स्रोत पनि हो । तर शरीरलाई आवश्यकभन्दा धेरै मासु खाएमा त्यसले भने स्वास्थ्यमा हानी पुर्याउने भय रहन्छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले धेरै मात्रामा प्रशोधित मासु खाँदा क्यान्सर हुन सक्नेसमेत उल्लेख गरेको छ । मासु धेरै खाँदा शरीरमा बोसो जम्नुका साथै अत्याधि मासु सेवनले व्यक्तिमा मोटोपनको समस्या समेत देखिने सम्भावना रहन्छ ।
यस्तै, रातो र प्रशोधित मासुको धेरै उपभोगले शरीरमा खराब कोलोस्टोरेल बढ्ने र मासुमा हुने बोसो र चिल्लो धमनीमा जमेर मुटुरोगको तथा उच्च रक्तचापको जोखिम रहन्छ । यस्तै, पाचन प्रक्रियामा समस्या भएर यसले कब्जियत, पायल्स, फिसर, फिस्टुला जस्ता समस्याहरु समेत निम्त्याउँछ ।
मासु धेरै खाँदा रक्तसञ्चार प्रणाली वृद्धि भएर रक्तचाप बढ्ने, मधुमेह तथा मुटुरोगको जोखिम समेत उच्च रहन्छ ।
उसोभए कति मासु शरीरको लागि उचित त?
व्यक्तिको लागि यति मासु मात्रै उचित भन्ने हुम्दैन । मासु मात्रै नभई अन्य खानाहरु पचाउनका व्यक्तिको तौल, शारीरिक बनावट, कामको प्रकृति, व्यायाम र स्वास्थ्य अवस्थामा भर पर्छ ।
‘यद्यपि विश्वव्यापी मान्यताअनुसार शरीरमा एक किलो तौल बराबर एक ग्राम प्रोटिन चाहिने भएकाले सरदर ५० किलो तौलका व्यक्तिका लागि ५० ग्राम मासु उपयुक्त रहन्छ ।
यद्यपि चाडपर्वमा थोरै–थोरै गरी पटक पटक खाने भएकाले व्यक्तिले आवश्यकभन्दा बढी मासुको उपभोग गरिसकेको हुन्छ । तसर्थ शरीरमा ती मासुले हानी नपुर्याओस् भन्नका लागि मासु बनाउँदा कम मसला तथा तेलको प्रयोग गर्ने, सकेसम्म उसिनेर बनाउने, शारीरिक रुपमा सक्रिय रहने, प्रशस्त पानी पिउने तथा हरियो तरकारी तथा सलादलाई बढी प्राथमिकता दिनुपर्छ ।