काठमाडौँ, ३० असोज । ३७ वर्षीय महिलाले आफ्नी ६२ वर्षीय सासुलाई कलेजो दान गरेकी छन् । गत शुक्रवार शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा सो प्रत्यारोपण सम्पन्न भएको हो ।
भारतको लेकसोर अस्पतालका डा शिल्भा कुमार नागानाथमको सहयोगमा केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठको नेतृत्वको टोलीद्वारा उक्त प्रत्यारोपण गरिएको थियो। यससंगै केन्द्रमा कुल १४ कलेजो प्रत्यारोपणको सम्पन्न भएको छ ।
हाल कलेजो दात्ता र बिरामी दुवैको अवस्था सामान्य रहेको केन्द्रले जनाएको छ ।
के हो कलेजो दान ?
विभिन्न कारणवश् कलेजो बिग्रिएको तथा काम गर्न नसक्ने अवस्थामा दोस्रो व्यक्तिले शल्यक्रियामार्फत आफ्नो कलेजोको केही भाग बिरामीलाई दिने अवस्थालाई नै कलेजो दान भनिन्छ । यो मस्तिष्क मृत्यु भएको व्यक्ति तथा लिभिङ व्यक्ति दुवैबाट गर्न सकिन्छ ।
१८ देखि ५५ वर्षको स्वस्थ मानिसले दान गर्न सकिने यो शल्यक्रियामा विशेषगरी दुई वटा कुरा हेरिन्छ । एउटा मानसिक र शारीरिक रूपले स्वस्थ रहेको कुरा हेर्नुपर्ने हुन्छ । जसमा दिने मानिस लामो समयसम्म औषधिको सेवन नगरेको, मधुमेह, उच्च रक्तचाप जस्ता रोगहरू नभएको, ब्लड गुप्र, पेटको शल्यक्रिया नगरेका व्यक्तिको अंग लिन सकिन्छ । फेरि कलेजो दिन मिलेर मात्रै पनि हुँदैन । बिरामी र डोनरको ‘ब्लड गुप्र’ मिल्नुपर्छ ।
यसबाहेक प्रत्यारोपणपछि बिरामीलाई सामान्यतया एक–दुई दिन आईसीयूमा राखिन्छ । त्यसपछि १० दिन जति वार्डमा । बिरामीले राम्रोसँग खान, हिंडडुल गर्न सक्ने भएपछि उसलाई घर पठाइन्छ । अर्को ४ देखि ६ हप्ता घरमै आराम गर्नुपर्ने हुन्छ । बिरामीले ६ हप्तादेखि नर्मल काम गर्न सक्छ । यस्तै, कलेजोदात्ताको हकमा भने सो व्यक्ति दुई महिनाको अवधिमा नै आफैं हिंडडुल गर्न सक्छ । तर, एकपटक कलेजो दान गरेपछि अर्को पटक दान गर्न भने मिल्दैन । जसका कारण अरू अंगमा पनि बढी जोखिम हुनसक्छ ।