

भैरहवा, २८ असोज । भैरहवाको युर्निभर्सल कलेज अफ मेडिकल साइन्सेसका आन्दोलनरत विद्यार्थीमाथि प्रहरीले लाठीचार्ज गरेको छ ।
विभिन्न माग राखेर केही दिनदेखि आन्दोलनरत विद्यार्थीमाथि आइतबार प्रहरीले लाठीचार्ज गरेको विद्यार्थीहरुले बताएका हुन् ।
सोको विरोधस्वरुप एक विज्ञप्ति जारी गर्दै विद्यार्थीहरुले जिल्ला प्रशासन अधिकारीको मध्यस्तकर्ताको उपस्थितमा कलेज प्रशासन र विद्यार्थीबीच जारी छलफलकै क्रममा कलेजमा प्रिन्सिपल लक्ष्मी पाठकलाई भगाइएको आरोप लगाएका छन् । ‘सो क्रममा प्रहरी बल प्रयोग गरी विद्यार्थीहरु एवम् इन्टर्न डाक्टरहरुको छातीमा बन्दुक तेर्साएर लाठीचार्ज गरी भुइमा लाएर घाइते बनाएको कुराको भत्र्सना गर्छाै’, विज्ञप्तिमा उल्लख छ ।
विद्यार्थीको मौलिक अधिकारका लागि गरिएको उक्त शान्तिपूर्ण आन्दोलनमा प्रशासन कार्यालयले दमन गरी ठाडो हस्तक्षेप गरेको भन्दै विद्याथीहरुले सोको निन्दा गरेको छ । ‘सो दमन ज्यादतीको विरुद्व न्याय प्राप्तिको लागि आफ्ना कदम अघि बढाउने कुरामा हामी प्रतिबद्व छौँ , साथै आन्दोलनको कार्यक्रम थप सशक्त बनाउन जुनसुकै कदम चाल्न पनि पछि नहट्ने व्यहोरा जानकारी गराउँछौँ’, विज्ञप्तिमा भनिएको छ । सो क्रममा भइपरी आउने घटनाको जिम्मेवार कलेज प्रशासन स्वयम् हुने विद्यार्थीहरुले जनाएको छ ।
केही समययता विश्वविद्यालयका विद्यार्थीहरु कलेज प्रशासनले लागू गरेको ड्रेस कोड खारेज हुनुपर्ने, इन्टर्नसिपको पारिश्रमिक बढाउनुपर्ने, परीक्षा दिन प्रतिबन्ध लगाएका विद्यार्थीहरूको प्रतिबन्ध फुकुवा गर्नुपर्नेलगायतका मागसहित आन्दोलनमा छन् । कलेजका प्रिन्सिपल पाठकले राजीनामा दिनुपर्ने उनीहरुको माग छ ।
यता पाठकले भने आफूलाई विद्यार्थीहरुले बन्धक बनाएर राखेको भन्दै सामाजिक सञ्जालमार्फत आरोप लगाएकी थिइन् ।