काठमाडौं, २८ असोज । आर्थिक मन्दीका कारण नयाँ दरबन्दी सिर्जना नगर्ने सरकारको नीतिगत निर्णय भएपनि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको सिनेट बैठकले भने नयाँ दरबन्दी सिर्जना गर्ने निर्णय गरेको छ ।
प्रतिष्ठानका कुलपति एवं स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतको अध्यक्षतामा बसेको सिनेट बैठकले प्राविधिक समूहको विभिन्न ६६ पदमा दरबन्दी स्वीकृत गरेको छ ।
नाक कान घाँटी तर्फ स्पीच थेरापीका लागि एकजना अडियोलोजिष्ट, रेडियोग्राफर ५ जना, एनेस्थेसिया सहायक ५ जना, ल्याव टेक्निसियन पाँचौँ ५ जना पदपूर्तिका लागि स्वीकृत गरेको छ ।
सिनेटले नयाँ दरबन्दी अन्तर्गत फार्मेसी सहायक र रस्टाफ नर्स ३० जनाको पनि पदपूर्ति गर्ने निर्णय गरेको छ । त्यस्तै, इलेक्ट्रिसियन ४ जना, प्लम्बर ६ जना र अन्य सहायक पदमा १० जनालाई पदपूर्ति गर्ने निर्णय भएको छ ।
कोभिड महामारीका बेला राखिएका कर्मचारीलाई रकम अभावका कारण तलब खुवाउन नसकेको सार्वजनिक अभिव्यक्ति दिएका मन्त्री बस्नेतले तुरुन्तै नयाँ पद सिर्जना गरेर पदपूर्ति गर्ने निर्णय गर्नुलाई कतिपयले ‘आफ्ना मान्छे’ राख्ने दाउका रुपमा अर्थाएका छन् ।
प्रतिष्ठानले एकसाता अघि करारका दर्जनौं कर्मचारीको करार सम्झौता नविकरण गरेन । जसका बारेमा प्रश्न सोध्दा मन्त्री बस्नेतले तलब खुवाउने पैसा नभएर करार नविकरण नगरेको बताएका थिए ।
आर्थिक मन्दीका कारण नयाँ दरबन्दी सिर्जना नगर्ने सरकारको नीतिगत निर्णय भएपनि स्वतन्त्र ऐनमा सञ्चालिन भएकाले प्रतिष्ठानले पदपूर्तिका आफ्नै विधिहरु बनाएर कार्यान्वयन गर्ने तयारी गरेको देखिएको छ ।
त्यस्तै, सिनेट बैठकले प्रा.डा चोपलाल भुसाल, राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख डा. बद्री रिजाल र कोशी अस्पतालका चिकित्सक डा. दिपक लाई नयाँ सिनेट सदस्यमा नियुक्त गर्ने निर्णय गरेको छ । त्यस्तै प्रतिष्ठानको प्राज्ञिक परिषद्मा प्रा.डा अजित रायामाझी, प्रा.डा दीपेन्द्र श्रेष्ठ र प्रा.डा सरोज शर्मालाई नियुक्त गर्ने निर्णय गरिएका प्रतिष्ठानका उपकुलपति भूपेन्द्र बस्नेतले जानकारी दिए ।