काठमाडौँ, २६ असोज । सरकारले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई एकैदिन एकहप्ते स्पष्टिकरण सोधेर सोही दिन निलम्बन गरेको छ ।
स्वास्थ्य तथा जनसंख्याका उपसचिव कृष्ण थापाले शुक्रवार निर्देशक बसौलालाई पत्र काट्दै स्पष्टिकरण मागसहित निलम्बन गरिएको जानकारी दिएका हुन् ।
बसौलाले बीमा २०७४ ऐनले निर्दिष्ट गरे अनुरुपका काम, कर्तव्य जिम्मेवारीपूर्वक पूरा नगरेको आरोप लगाउँदै उनलाई सात दिनको अल्टिमेटसहित स्पष्टिकरण सोधिएको थियो । लगत्तै उपसचिव थापाले पदीय जिम्मेवारीमा राख्नाले उनी उपर लगाइएको प्रमाण नष्ट गर्न सक्ने भन्दै बसौलालाई तीन महिनाको लागि निलम्बन गरिएको जानकारी सहित दोस्रो पत्र काटेको हो ।
केही समयअघि मात्रै स्वास्थ्यमन्त्री मोहन बस्नेतले एक सार्वजनिक कार्यक्रममा निर्देशक बसौलाको क्षमतामाथि प्रश्न उठाउँदै उनको आलोचना गरेका थिए । संगै मन्त्रालयले तोकेको सातदिने स्पष्टिकरणको अवधि नसकिदैँ उनलाई निलम्बन गर्नुले मन्त्री बस्नेत उनीबाट रुष्ट भएको बुझ्न सकिन्छ ।