काठमाडौं, २६ असोज । औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले औषधि बजारमा रहेको विकृति अन्त्य गर्नुपर्ने बताएका छन् ।
नेपाल औषधि उत्पादक संघको २९ औं वार्षिक साधारण सभाको समापन सत्रलाई सम्बोधन गर्दै महानिर्देशक ढकालले औषधिको बजारिकरण गर्न गरिने विकृत अभ्यास अन्त्य नगरे औषधि बजारको गुणात्मक वृद्धि नहुने बताए ।
ढकालले भने, ‘औषधिको बजारीकरण गर्न ४ सय प्रतिशतसम्म बोनस दिनेगरेको सुन्ने गरेको छु । यस्तो अभ्यासले औषधि उद्योगले विकास गर्न सक्दैन ।’
साथै महानिर्देशक ढकालले औषधि उद्योगीले नियमनकारी निकायका बारेमा नकरात्मकमात्रै सोच्ने गरेको बताए । उनले औषधि उद्योगीहरुलाई सकरात्मक सोच राख्दै स्वस्थ र प्रतिस्पर्धात्मक बजार बनाउन आह्वान गरे ।
औषधि उद्योग र बजारलाई शुद्धिकरण गर्ने नेतृत्व लिन आफु तयार रहेको उनको भनाइ छ ।