काठमाडौँ २४ असोज । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको भनाईप्रति आपत्ति जनाएका छन् ।
मंगलबार स्वास्थ्यमन्त्री बस्नेतले एक कार्यक्रममा स्वास्थ्य जनशक्ति उत्पादन कम भएको सम्बन्धमा दिएको अभिव्यक्ति भ्रामक भएको भन्दै केसीले सोको खण्डन गरेका हुन् ।
बुधवार एक वक्तव्य जारी गर्दै डा. केसीले नेपालमा डाक्टर र नर्सिङ पढ्न पाएनन् विदेश जानु पर्यो भन्ने मन्त्रीको अभिव्यक्तिमा कुनै सत्यता नरहेको उनले बताए । ‘नेपाल मेडीकल काउन्सिल को तथ्याङ्क अनुसार चिकित्सा शिक्षा ऐन लागु भए यता मेडिकल शिक्षाको लागि विदेश जाने विद्यार्थीको संख्या गुणात्मक रूपमा कम भएको छ भने मेडिकल कलेज मा सशुल्क पढ्नेहरुको लागि तोकिएका सिटहरु खाली गईरहेको छ’, वक्तव्यमा उल्लेख छ ।
शिक्षालयहरुले अहिले पनि तोकिएको सिट संख्या अनुसार नर्सिङ विद्यार्थीहरु पाउन नसकेको उनको तर्क छ । २०८० भएपनि माफियाका कारण सुदुरपश्चिमको कैलाली गेटाबाहेक अरु प्रदेशमा निर्माण कार्य शुरु हुन नसकेको उनको आरोप छ ।
तीन–चार दशकदेखि सरकारी अस्पताल तथा स्वास्थ्य केन्द्रहरु नथपिएको र भएकामा पनि दरबन्दी नबढ्दा डाक्टर नर्स लगायतका स्वास्थ्य जनशक्ति वेरोजगार रहेको उनले बताएका छन् । ‘स्वास्थ्यमन्त्रीको हैसियतले यस्ता समस्या सम्बोधन गर्नुपर्ने थियो’ उनले भनेका छन्, ‘मापदण्ड नपुगेका र नियम कानुन मिच्ने निजी शिक्षालयहरुलाई कारबाही गर्ने कदम चाल्नुको साटो उल्टै उनीहरुको वकालत गर्दै हिँड्नु निन्दनीय काम हो ।’
स्वास्थ्य जनशक्ति उत्पादन संवेदनशील कम भएको र यसको नियमन तथा व्यवस्थापन चिकित्सा शिक्षा सम्बन्धी नियामक निकायले गर्नुपर्ने डा। केसीको जोड छ ।
आफूहरुसँग भएको सहमतिअनुसार २०८० सम्म प्रत्येक प्रदेशमा एउटा सरकारी मेडिकल कलेज वा प्रतिष्ठान सञ्चालन गर्नुपर्ने भए पनि माफियाहरुसँग मिलेर रोकेको भन्दै उनले सत्याग्रहसहित आन्दोलन गर्ने चेतावनी दिएका छन् ।