काठमाडौँ १८ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार स्वास्थ्यकर्मीको पेसागत सुरक्षा, हित र वृत्तिविकासमा सचेत र गम्भीर रहेको बताएका छन् ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको चौँथो दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै उनले बिरामीको उपचारमा क्रियाशील स्वास्थ्यकर्मीमाथि भइरहेका शृङ्खलाबद्ध आक्रमणलाई आफूले गम्भीर रूपमा लिएको धारणा व्यक्त गरे ।
जनताको उपचारमा सक्रिय स्वास्थ्यकर्मीको पेसागत सुरक्षा, हित र वृत्तिविकासमा सरकार सचेत र गम्भीर रहेको बताएका छन् ।
यससम्बन्धमा सरकार र स्वास्थ्यकर्मीबीच आवश्यक कानुनी प्रबन्ध गर्ने सहमति एवम् गृहकार्य गरिसकेको बताउँदै उनले भने, ‘‘स्वास्थ्यजस्तो अतिसंवेदनशील क्षेत्रमा हुने कुनै पनि प्रकारका अवाञ्छित गतिविधि नियन्त्रण गर्न सरकार दृढ छ ।’
प्रधानमन्त्री दाहालले पूर्ण भरोसा र आत्मविश्वासका साथ बिरामीको उपचारमा सक्रिय रहन चिकित्सकलाई आह्वान समेत गरेका छन् । यसैगरि सरकार स्वास्थ्य क्षेत्रमाको लगानी अभिवृद्धि, उत्पादित जनशक्तिको रोजगारीको सुनिश्चितता, पेसागत हित र आधारभूत स्वास्थ्य सेवाको नागरिक हकप्रति प्रतिवद्ध रहेको उनको भनाई छ ।