काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धि व्यवस्था कार्यन्वयनको काम सुरु भइसकेको जनाएको छ ।
आइतबार एक सुचना जारी गर्दै मन्त्रालयले आज बसेको बैठकले पछिल्लो समय स्वास्थ्यकर्मीहरु माथि भएका अवान्छित घटनाहरुका सम्बन्धमा एवं स्वाथ्यकर्मीहरुसँगको सुरक्षासम्बन्धी व्यवस्था कार्यान्वयनका लागि छलफल भई काम शुरु गरिसकेको जानकारी दिएको हो ।
‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ को दफा ५ बमोजिमको व्यवस्था अनुसार स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धमा समन्वयात्मक रुपले काम गर्नको लागि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समिति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरित्त सचिव ज्यूको अध्यक्षतामा गठित समितिको आज मिति २०८०।०६।१४ गते बसेको वैठकले पछिल्लो समय स्वास्थ्यकर्मीहरु माथि भएका अवान्छित घटनाहरुका सम्बन्धमा एवं स्वाथ्यकर्मीहरुसँगको सुरक्षासम्बन्धी व्यवस्था कार्यान्वयनका लागि छलफल भई काम शुरु गरीसकेको व्यहोरा सबैमा जानकारीका लागि अनुरोध छ’, सुचनामा उल्लेख छ ।
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थको हकहित तथा सुरक्षाका लागि बनेको ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धि ऐन–२०६६’ को नम्बर ३ बुँदामा प्रचलित कानुन बमोजिम स्वास्थ्यकर्मीको रुपमा सम्बन्धित परिषद्मा दर्ता भएका व्यक्ति तथा संस्थालाई कसैले पनि स्वास्थ्य उपचारको विषयलाई लिई स्वास्थ्य संस्था तोडफोड, आगजनी तथा हानी नोक्सानी गर्न, नपाईने तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी कुटपिट गर्न तथा शारीरिक रुपमा चोट गन, गालीगलौज गर्न तथा धम्की दिन नपाईने बताइएको छ ।
अन्यथा उल्लेखित व्यवस्थाविपरित कुनै पनि कार्य भएमा स्वास्थ्यकर्मीले सुरक्षाको माग गर्न सक्ने र (२) उपदफामा (१) बमोजिम सुरक्षाको माग भएमा स्थानिय प्रशासनले तुरुन्त सुरक्षाको व्यवस्था गरिदिनुपर्ने एवम् कुनै संस्थाबाट प्रदान गरिने अवरोध पुग्न जाने भई स्थायी रुपमा सुरक्षाको व्यवस्था गर्न समितिले आग्रह गरेको खण्डमा सरकारले सो स्वास्थ्य संस्थामा स्थायी सुरक्षाको व्यवस्था गर्न सकिने ऐनमा उल्लेख छ ।