काठमाडौं, २९ भदौ । नेपाल सरकारले देशभरका ७ वटा अस्पतालबाट पहिलो चरणमा किशोरीहरुलाई लगाइने पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप (एचपीभी भ्याक्सिन) दिइरहेको छ ।
सरकारको नीति तथा कार्यक्रममा किशोरीहरुलाई एचपीभी भ्याक्सिन लगाउने घोषणा भए बमोजिम कार्यक्रम सुरु गरिएको तर, सरकारसँग हाल २० हजार मात्रामात्र खोप उपलब्ध छ । अन्य खोप भने दातृ निकाय गाभी लगायतसँग समन्वय गरेर व्यवस्था गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । खोप अभियानको बुधवार स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले उद्घाटन गरेका छन् । शनिवारसम्म चल्ने खोप अभियान राजधानीको परोपकार प्रसुति गृह, कोशी अस्पताल, , विराटनगर, नारायणी अस्पताल वीरगञ्ज, गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा, भेरी अस्पताल नेपालगञ्ज, कर्णाली प्रदेश अस्पताल सुर्खेत र डडेलधुरा अस्पताल डडेलधुरामा खोप लगाइँदैछ ।
यो खोप १० देखि १४ वर्षका किशोरीलाई लगाइने भएपनि सरकारले खोप अभावको कारण देखाउँदै १४ वर्षका बालिकाहरुलाई मात्र लगाएको हो । अन्य उमेरका बालिका र किशोरीलाई खोप लगाउने समय बाँकी रहने भएकाले दोश्रो चरणमा खोप व्यवस्था गरेर सबै बालिका र किशोरीलाई खोप उपलब्ध गराइने स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले जनाएको छ ।
नेपाली महिालाहरुमो हुने क्यान्सरहरुमध्ये पाठेघरको मुखको क्यान्सर पहिलो स्थानमा रहेको हुँदा यो रोगको रोकथामका लागि नेपाल सरकारले प्राथमिकतामा राखेर थोरै मात्राबाटै भएपनि अभियान सुरु गरेको स्वास्थ्य मन्त्रालयको दावी छ । उमेर नाघिसकेको महिला र ३० वर्षमाथिका महिलाले बढिमा ५ वर्षको अन्तरालमा क्यानसर परिक्षण गराउन पनि मन्त्रालयले अपिल गरेको छ ।
एचपीभी खोपले कसै कसैलाई एलर्जी भएमा वा पहिलो मात्रा लगाएर कडा किसिमको प्रतिक्रिया भएमा, ज्वरो आएको अवस्थामा र गर्भवति अवस्थामा खोप लगाउन हुँदैन ।