काठमाडौं, ५ भदौ । बागमती प्रदेशमा पछिल्लो २४ घण्टामा १ सय ११ जना डेंगुका संक्रमित फेला परेका छन् ।
बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार पछिल्लो २४ घण्टामा पनि उच्च संक्रमण धादिंगमै देखिएको छ । पछिल्लो २४ घण्टामा धादिंगमा मात्र ५४ जना डुंगु संक्रमित पहिचान भएका छन् । यो संख्या सरकारी स्वास्थ्य संस्थासँग भएको तथ्यांक हो । पहिचान नभएका र उपचारको पहुँचमा नआएका अन्य सयौंलाई डेंगु संक्रमण भएको हुनसक्ने आशंका गरिएको छ ।
पछिल्लो एकदिनमा काठमाडौंमा १४ जना, ललितपुरमा १५ र मकवानपुर जिल्लामा २४ जनामा डेंगुको संक्रमण देखिएको छ । बाँकी जिल्लामा पछिल्लो २४ घण्टामा डेंगुका संक्रमित नभेटिएको सरकारी तथ्यांक छ ।
डेंगु संक्रमण न्यूनिकरण गर्न विभिन्न स्थानीय तह र संघीय सरकारले लामखुट्टेले फुल पार्ने ठाउँ र लार्भा नष्ट पार्ने लगायत अभियान चलाइरहेको छ । सरकारले डेंगु पहिचान भएका बिरामीलाई सबै सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने घोषणा पनि गरेको छ ।