काठमाडौं, ९ जेठ । मेडिकल कलेजको सम्बन्धन पाउन लामो समयदेखि प्रयासरत मनमोहन मेडिकल कलेजको भगिनी संस्था मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्सलाई नर्सिङ्ग अध्यापन गराउनका लागि चिकित्सा शिक्षा आयोगले सम्बन्धन प्रदान गरेको छ ।
चिकित्सा शिक्षा ऐनको प्रावधानका कारण मेडिकल कलेज सञ्चालन गर्न नसकेको मनमोहनले नर्सिङ्ग अध्यापनार्थ सम्बन्धन प्राप्त गरेको हो । चिकित्सा शिक्षा आयोगको कार्यकारी समितिले गत वर्ष माघको बैठकले सम्बन्धनका लागि सिफारिस गरेको मनमोहन र काठमाडौं मोडललाई चिकित्सा शिक्षा आयोगको सोमबार बसेको पूर्ण बैठकले सम्बन्धन प्रदान गरेको आयोगका निर्देशक डा. दिलिप शर्माले स्वास्थ्य डायरीलाई जानकारी दिए ।
उनका अनुसार यी दुई कलेजलाई आशयपत्र दिएसँगै सिटिइभिटीले निरीक्षण गरेर सम्बन्धन दिन सिफारिस गरेसँगै आयोगले सम्बन्धन प्रदान गरेको हो । शर्माका अनुसार अब आयोगले कलेजको निरीक्षणपश्चात सिट संख्या निर्धारण गरिनेछ ।
यसका साथै आयोगले अन्य ७० वटा शैक्षिक संस्थालाई स्वास्थ्य विज्ञानका विभिन्न विधामा अध्यापन गराउनका लागि आशयपत्र प्रदान गरेको छ ।
जसमा सेवा एकेडेमी अफ हेल्थ साइन्स पोखराले नर्सिङ्ग अध्यापनका लागि आशय पत्र प्राप्त गरेको छ भने देशभरका अन्य ६९ कलेजले सामान्य चिकित्सा, फार्मेसी, ल्याव टेक्नोलोजी, फिजियोथेरापी, रेडियोग्राफी लगायत विधामा आशयपत्र प्राप्त गरेका छन् ।