काठमाडौं, १६ वैशाख । भारतको एम्स अस्पतालमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थामा क्रमिक सुधार आएको छ ।
मधुमेह एवं छातीमा समस्या भएपछि उपचारका लागि दिल्ली गएका राष्ट्रपति पौडेलको उपचार चलिरहेको र रिपोर्टहरु सकरात्मक आएको भारतस्थित नेपाली राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
छातीमा भएको संक्रमण नेपालमा निको नभएको भन्दै राष्ट्रपति पौडेललाई भारत जान चिकित्सकको समूहले आग्रह गरे बमोजिम उनलाई भारत लगिएको राष्ट्रपतिको सचिवालयले बताउँदै आएको छ । यद्यपी पौडेलको स्वास्थ्य समस्याको नेपालमै उपचार हुनसक्ने भन्दै राज्यकोषको खर्चमा भारत लगिएको भन्दै अहिले चौतफी विरोध भइरहेको छ ।
चौतर्फी आलोचना भएसँगै राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको उपचार खर्चसम्बन्धी ऐन अनुसार नै व्यवस्था भएको भन्दै जनतालाई भ्रमित नहुन र नबनाउन आग्रह गरेको छ ।
एयर एम्बुलेन्समार्फत भारत लगिएका राष्ट्रपतिको उपचार खर्चका अलावा आतेजाते खर्चमात्र करिब ६५ लाख लाग्नेभएपछि यस विषयलाई लिएर विरोध भइरहेको हो ।