

काठमाडाैं- ‘गरौँ योग, रहौँ निरोग’ भन्ने नारासहित आज नवौँ योग दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
मन्त्रिपरिषद्को विसं २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गर्दै यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई सुम्पेको थियो । तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्री नरहरि आचार्यको प्रस्तावमा मन्त्रिपरिषद्ले माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको हो ।
वैदिककालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको योग नेपालमै लुप्तप्रायः बनेको थियो । यही क्षेत्रबाट पुनर्जागरण गर्न दिवस घोषणा गरी जनचेतना जगाउने काम शुरु भएको हो ।
प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवं स्थिरता र आरोग्यता प्राप्ति हुन्थ्यो । आधुनिक युगको प्रभावमा यसलाई चटक्क बिर्सिएका नेपाली युरोप र अमेरिकामा उपचार र सुख शान्तिका लागि बढी प्रयोगमा आउन थालेपछि योगतिर आकर्षित हुन थालेका हुन् । विज्ञहरुकाअनुसार योग गर्दा सम्पूर्ण शरीरको रगत सञ्चालन सक्रिय हुनुकासाथै शरीरका बिकारहरु क्रमशः हट्दै जान्छ ।
पछिल्लाे समय योग, ध्यान र प्रणायाममा नेपालीहरुको पनि आकर्षण बढ्न थालेको छ । युरोप र अमेरिकामा विभिन्न रोगको उपचार र सुख शान्तिका लागि बढी प्रयोगमा आउन थालेपछि नेपालीहरु पनि योगतिर आकर्षित हुन थालेका हुन् ।
योग गुरु डाक्टर हरिप्रसाद पोख्रेलका अनुसार शरीर स्वस्थ हुन मन स्वस्थ हुनु पर्छ, मन र शरीर दुवै स्वस्थ हुनका लागि योग चाहिन्छ । शारीरिक रूपमा स्वस्थ, मानसिक तवरले शान्त र अध्यात्मिक रूपमा उच्च चेतनायुक्त भएर जिउने कलालाई योग भनिन्छ ।



