काठमाडौं । सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई सबै नागरिकको पहुँचमा पुर्याउन अनिवार्य आबद्धताको व्यवस्था गर्ने तयारी गरेको छ। सरकारी कर्मचारी, निजी क्षेत्रका श्रमिक तथा कर्मचारी, स्वरोजगार, अनौपचारिक क्षेत्रका श्रमिक र बेरोजगारसहित सबै नागरिकलाई स्वास्थ्य बीमामा समेट्ने गरी सुधारका प्राथमिकता अघि सारिएको हो।
हाल पाँच सदस्यसम्मको परिवारले वार्षिक ३ हजार ५०० रुपैयाँ योगदान गरेबापत एक लाख रुपैयाँसम्मको उपचार सुविधा पाउने व्यवस्था छ। हालसम्म एक करोड ६८ लाखभन्दा बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन्। तर, तीमध्ये ६२ लाखभन्दा बढीको मात्रै बीमा सक्रिय रहेको छ। देशभरका ५०२ स्वास्थ्य संस्था स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध छन्।
स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन नागरिकको आर्थिक अवस्था र आम्दानीका आधारमा योगदान प्रणाली व्यवस्थित गर्ने प्रस्ताव गरिएको छ। आर्थिक रूपमा सक्षम नागरिकले आफ्नो क्षमताअनुसार योगदान गर्ने र अति विपन्नलगायत विशेष समूहको बीमा प्रिमियम राज्यले व्यहोर्ने व्यवस्था मिलाइने प्राथमिकतामा राखिएको छ।
त्यस्तै, स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोष तथा अन्य निकायमार्फत सञ्चालन भइरहेका स्वास्थ्य उपचार सुविधासम्बन्धी कार्यक्रमबीच समन्वय र एकीकरण गर्ने योजना अघि सारिएको छ। यसबाट दोहोरोपन हटाउनुका साथै स्वास्थ्य उपचार सुविधालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।

बीमामार्फत उपचार सेवा दिने स्वास्थ्य संस्थाको दायरा विस्तार गर्ने, सेवा सहज र सुलभ बनाउने तथा उपचारको गुणस्तर सुधार गर्ने विषयलाई पनि प्राथमिकता दिइएको छ। बीमामा आबद्धता, नवीकरण, स्वास्थ्य अभिलेख, प्रेषण, बीमा दाबी र भुक्तानी प्रक्रियालाई डिजिटल प्रणालीमा आधारित बनाउने योजना छ।
स्वास्थ्य बीमा कार्यक्रमको दुरुपयोग रोक्न अनावश्यक स्वास्थ्य परीक्षण, अनुचित बीमा दाबी तथा प्रणालीगत अनियमितता नियन्त्रणका लागि कानुनी र निगरानी व्यवस्था प्रभावकारी बनाउने प्रस्तावसमेत गरिएको छ।
यसका साथै स्थानीय तहका आधारभूत स्वास्थ्य संस्था, प्रदेशका अस्पताल र सङ्घीय सरकारअन्तर्गतका स्वास्थ्य संस्थालाई एउटै बीमा प्रणालीमा जोड्ने योजना छ। तीनै तहका सरकारको अधिकार, दायित्व, वित्तीय जिम्मेवारी र जवाफदेहिता स्पष्ट पारेर कार्यक्रम सञ्चालन गर्ने प्राथमिकता तय गरिएको छ।
स्वास्थ्य बीमाको सफलता बीमित नागरिकको सङ्ख्याले मात्रै निर्धारण नगर्ने भन्दै आवश्यक परेको समयमा सहज उपचार पाउने अवस्था र कार्यक्रमको वित्तीय दिगोपनालाई मुख्य आधार मानिएको छ। सक्षम नागरिकको योगदान र योगदान गर्न नसक्ने नागरिकको जिम्मेवारी राज्यले लिने गरी सबै नेपालीलाई आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुन नपर्ने व्यवस्था निर्माण गर्ने प्रतिबद्धता जनाइएको छ।








