काठमाडौं । दिसा राम्रोसँग नहुनु, पेट फुल्नु वा दिसा गर्न कठिनाइ हुनुजस्ता समस्यालाई धेरैले सामान्य असहजताका रूपमा लिन्छन्। खानपान मिलाउने, पानी बढी पिउने वा औषधि सेवन गरेर समस्या टार्ने प्रयास गरिन्छ। तर विश्वभर ठूलो संख्यामा मानिसलाई प्रभावित पारिरहेको कब्जियत सामान्य असुविधा मात्रै नभई जनस्वास्थ्यको चुनौती बन्दै गएको छ।
सन् २०२६ मा प्रकाशित दुईवटा विश्वव्यापी अध्ययनले कब्जियतको व्यापकता र यसबाट प्रभावित हुने उमेर समूहबारे नयाँ तथ्य सार्वजनिक गरेका छन्। ती अध्ययनअनुसार संसारभर करिब आठ जनामध्ये एकदेखि चार जनामध्ये एक जनासम्म कब्जियतबाट प्रभावित हुन सक्ने देखिएको छ।
क्लिनिकल एन्ड ट्रान्सलेसनल ग्यास्ट्रोएन्टेरोलोजी जर्नलमा प्रकाशित एक अध्ययनले विश्वभर करिब १२.१४ प्रतिशत मानिसमा दीर्घकालीन फङ्सनल कब्जियत रहेको अनुमान गरेको छ। आन्द्रामा कुनै स्पष्ट संरचनात्मक समस्या वा अवरोध नभए पनि दिसा त्याग गर्न कठिनाइ हुने अवस्थालाई फङ्सनल कब्जियत भनिन्छ।
अनुसन्धानकर्ताले ४४ देशमा भएका १२८ वटा अध्ययन समेटेका थिए। सन् १९९९ देखि २०२५ सम्म प्रकाशित ती अध्ययनमा चार लाख ५९ हजार ६१ जना सहभागी थिए। नतिजाअनुसार महिलामा १४.६ प्रतिशत र पुरुषमा १०.६२ प्रतिशत कब्जियत देखिएको छ।
उमेर समूहअनुसार ६५ वर्षमाथिका व्यक्तिमा कब्जियतको दर सबैभन्दा बढी १९.८९ प्रतिशत रहेको छ। बालबालिकामा १२.०६ प्रतिशत र १८ देखि ६४ वर्ष उमेर समूहका वयस्कमा ९.५ प्रतिशत देखिएको छ। यसले कब्जियत वयस्कको मात्र नभई बालबालिका र वृद्धवृद्धाको समेत महत्त्वपूर्ण स्वास्थ्य समस्या भएको देखाउँछ।
यसैगरी, फ्रन्टियर्स इन मेडिसिन जर्नलमा प्रकाशित अर्को विश्वव्यापी समीक्षाले कब्जियतको औसत प्रचलन २४.१ प्रतिशत रहेको अनुमान गरेको छ। अर्थात् विश्वभर करिब चार जनामध्ये एक जना यस समस्याबाट प्रभावित हुन सक्ने अध्ययनको निष्कर्ष छ। यस अध्ययनमा तीन हजार ६४९ अनुसन्धानका अभिलेख परीक्षण गरी ४८ वटा अनुसन्धान समावेश गरिएको थियो।
विश्व ग्यास्ट्रोइन्टेस्टाइनल अर्गनाइजेसनको सन् २०२५ को विश्वव्यापी निर्देशिकाले पनि दीर्घकालीन कब्जियतलाई विश्वभर देखिने र मानिसको जीवनको गुणस्तरमा असर पार्ने पाचनसम्बन्धी समस्याका रूपमा व्याख्या गरेको छ।
सामान्यतया सातामा तीन पटकभन्दा कम दिसा हुनु, दिसा कडा र सुख्खा हुनु, दिसा गर्दा धेरै बल लगाउनुपर्ने वा दिसा गरेपछि पनि पेट सफा नभएको महसुस हुनुलाई कब्जियतका प्रमुख लक्षण मानिन्छ। नियमित दिसा भए पनि दिसा गर्न कठिनाइ हुने, धेरै समय लाग्ने वा पूरा दिसा नभएको अनुभूति हुने अवस्थासमेत कब्जियतमा पर्छन्।
लामो समयसम्म कब्जियत रहँदा पेट दुख्ने, फुल्ने, दिसा गर्दा चिरा पर्ने, पायल्स हुने र दिसा अड्किने समस्या देखिन सक्छ। यसले दैनिक कामकाज, खानपान र समग्र जीवनको गुणस्तरमा समेत असर पार्छ।

कब्जियत एउटै कारणले हुँदैन। खानपान, शारीरिक गतिविधि, औषधिको प्रयोग र विभिन्न स्वास्थ्य समस्याले यसको जोखिम बढाउन सक्छन्। सागसब्जी, फलफूल, गेडागुडी र पूर्णअन्नमा पाइने रेसादार खानेकुरा अर्थात् फाइबर कम खानु यसको प्रमुख कारणमध्ये एक हो। फाइबरले दिसालाई नरम र ठूलो बनाउन मद्दत गर्छ। त्यसैगरी पर्याप्त पानी नपिउनु, लामो समय बसिरहनु, व्यायाम नगर्नु र दिसा लाग्दा पनि रोक्ने बानीले कब्जियत गराउन सक्छ।
आइरन, क्याल्सियम, केही रक्तचाप नियन्त्रण गर्ने औषधि, ओपिओइड समूहका दुखाइ कम गर्ने औषधि तथा डिप्रेसनविरुद्ध प्रयोग हुने केही औषधिले पनि कब्जियत गराउन सक्छन्। मधुमेह, थाइराइडको समस्या, पार्किन्सन रोग तथा आन्द्राको चाल वा मलद्वारका मांसपेशीसँग सम्बन्धित समस्याले पनि दिसा त्यागमा कठिनाइ ल्याउन सक्छन्। उमेर बढ्दै जाँदा र गर्भावस्थामा हुने शारीरिक तथा हर्मोनल परिवर्तनले पनि कब्जियतको जोखिम बढाउँछन्।
अमेरिकाको नेसनल इन्स्टिच्युट अफ डायबिटिज एन्ड डाइजेस्टिभ एन्ड किड्नी डिजिजेसका अनुसार खानपान र दैनिक व्यवहारमा सुधार गरेर धेरैजसो सामान्य कब्जियत नियन्त्रण गर्न सकिन्छ। यसका लागि सागसब्जी, फलफूल, गेडागुडी, ओट्स, गहुँलगायत पूर्णअन्न नियमित खानुपर्छ। वयस्कले उमेर र लिंगअनुसार दैनिक २२ देखि ३४ ग्राम फाइबर लिनु उपयुक्त हुन्छ। फाइबरयुक्त खाना बढाउँदा पर्याप्त पानी पिउनु पनि आवश्यक हुन्छ।
नियमित हिँड्ने तथा व्यायाम गर्ने, दिसा लाग्दा नरोक्ने र शौचका लागि नियमित समय छुट्याउने बानीले पनि कब्जियत कम गर्न सहयोग गर्छ। बिहानको खाना खाएपछि शौचालय जाने नियमितता बसाल्दा आन्द्राको गतिविधि बढ्न सक्छ।
कुनै औषधि सेवन गरेपछि कब्जियत भएको शंका लागेमा चिकित्सकको सल्लाह लिनुपर्छ। आफैँ औषधि बन्द गर्नु हुँदैन। खानपान र जीवनशैलीमा सुधार गर्दा पनि समस्या समाधान नभए चिकित्सकको सल्लाहमा फाइबर सप्लिमेन्ट, पोलिइथिलिन ग्लाइकोल (पीईजी) वा अन्य उपयुक्त औषधि प्रयोग गर्न सकिन्छ।
अमेरिकन ग्यास्ट्रोएन्टेरोलोजी एसोसिएसन र अमेरिकन कलेज अफ ग्यास्ट्रोएन्टेरोलोजीले सन् २०२३ मा जारी गरेको संयुक्त निर्देशिकाले दीर्घकालीन फङ्सनल कब्जियतमा फाइबर सप्लिमेन्ट र पीईजी प्रयोग गर्न सकिने उल्लेख गरेको छ। बिरामीको अवस्थाअनुसार अन्य औषधि पनि प्रयोग गर्न सकिने निर्देशिकामा जनाइएको छ।
तर कब्जियत लामो समयसम्म रहिरहेमा, दिसामा रगत देखिएमा, अनायासै तौल घटेमा, पेट निरन्तर दुखेमा वा बान्ता भएमा चिकित्सकसँग जाँच गराउनुपर्छ। दिसा र ग्यास दुवै ननिस्किएको अवस्थामा पनि तत्काल स्वास्थ्य परीक्षण आवश्यक हुन्छ।
कब्जियतलाई सामान्य समस्या ठानेर बेवास्ता गर्दा स्वास्थ्यमा थप जटिलता आउन सक्छ। त्यसैले दिसा त्यागमा देखिएको असहजतालाई लुकाउनु वा आफैँ औषधि सेवन गरेर टार्नुको सट्टा यसको कारण पहिचान गरी समयमै उपचार गर्नु आवश्यक छ।








