काठमाडौं । क्यान्सर उपचारमा नयाँ सम्भावना देखिएको प्रयोगात्मक प्रविधि कार टी सेल थेरापीबाट तीन वर्षका बालकको कलेजोको गम्भीर क्यान्सर पूर्ण रूपमा हराएको छ। केमोथेरापी र पटक–पटकको शल्यक्रियासमेत गर्दा निको नभएको क्यान्सर यो उपचारपछि हराएको अनुसन्धानकर्ताहरूले बताएका छन्।
अमेरिकाको टेक्सासस्थित बेलर कलेज अफ मेडिसिनसहित विभिन्न संस्थाका अनुसन्धानकर्ताहरूले गरेको अध्ययन ‘द न्यु इङ्ल्यान्ड जर्नल अफ मेडिसिन’ मा प्रकाशित भएको हो। अध्ययनमा हेपाटोब्लास्टोमा नामक कलेजोको घातक क्यान्सरबाट पीडित बालकमा कार टी सेल थेरापी प्रयोग गर्दा उत्साहजनक नतिजा प्राप्त भएको उल्लेख छ।
तीन वर्षका ती बालकको कलेजोमा सुरुमा ११.२ × ९.६ × ७.१ सेन्टिमिटरको ठूलो ट्युमर देखिएको थियो। क्यान्सर फोक्सोमा समेत फैलिइसकेको थियो भने हड्डीमा पनि फैलिएको आशंका गरिएको थियो। उपचारका क्रममा बालकले तीन चरणको केमोथेरापी गराउनुका साथै कलेजोको मुख्य ट्युमर शल्यक्रियामार्फत हटाएका थिए। फोक्सोमा फैलिएको क्यान्सर हटाउन पनि दुई पटक शल्यक्रिया गरिएको थियो।

यति धेरै उपचारपछि पनि क्यान्सर पुनः देखियो र फोक्सोमा नयाँ ट्युमर पलाएपछि चिकित्सकहरूले उनलाई प्रयोगात्मक कार टी सेल थेरापीसम्बन्धी ‘केयर’ अध्ययनमा सहभागी गराएका थिए। यो ठोस ट्युमरमा कार टी सेल थेरापीको सम्भावना परीक्षण गर्ने प्रारम्भिक अध्ययनमध्ये एक थियो।
कार टी सेल थेरापी शरीरको आफ्नै प्रतिरक्षा प्रणालीलाई क्यान्सरविरुद्ध सक्रिय बनाउने उपचार विधि हो। यसमा बिरामीकै शरीरबाट टी सेल नामक प्रतिरक्षा कोष निकालेर आनुवंशिक प्रविधिबाट परिमार्जन गरिन्छ। परिमार्जित कोषलाई क्यान्सर पहिचान गरी आक्रमण गर्न सक्ने बनाइन्छ र पुनः बिरामीको शरीरमा पठाइन्छ।
यो प्रविधि विशेषगरी रगतसम्बन्धी क्यान्सरको उपचारमा प्रभावकारी देखिएको छ। तर फोक्सो, कलेजो तथा अन्य अंगमा विकसित हुने ठोस ट्युमरको उपचारमा यसको प्रभावकारिता देखाउनु वैज्ञानिकहरूका लागि चुनौतीपूर्ण रहँदै आएको छ।
तीन वर्षीय बालकको उपचारमा उनको आफ्नै टी सेललाई कलेजोको क्यान्सरमा बढी मात्रामा पाइने ‘ग्लाइपिकान–३’ (जीपीसी३) नामक प्रोटिन पहिचान गर्ने गरी परिमार्जन गरिएको थियो। साथै, टी सेलको सक्रियता र क्यान्सर नष्ट गर्ने क्षमता बढाउने उद्देश्यले इन्टरल्यूकिन–१५ र इन्टरल्यूकिन–२१ नामक प्रतिरक्षा प्रोटिन उत्पादन गर्ने जीनसमेत समावेश गरिएको थियो।

बालकलाई उक्त उपचार दुई पटक दिइएको थियो। पहिलो डोजपछि नै ट्युमरको आकार घट्न थालेको थियो। सीटी स्क्यानमा ट्युमर घटेको देखिनुका साथै रगतमा क्यान्सरको गतिविधि जनाउने अल्फा फेटोप्रोटिन (एएफपी) को मात्रा पनि कम भएको थियो।
पहिलो उपचारको आठ सातापछि दोस्रो डोज दिइएको थियो। त्यसपछि गरिएको परीक्षणमा ट्युमरका सक्रिय संकेत देखिएनन्। केही बाँकी दागबाहेक क्यान्सर पूर्ण रूपमा हराएको अनुसन्धानकर्ताहरूले बताएका छन्। उपचारपछि १२ महिनासम्म गरिएको निगरानीमा पनि बालकमा क्यान्सर पुनः देखिएको थिएन।
अध्ययनका पहिलो लेखक तथा बाल क्यान्सर विशेषज्ञ डेभिड स्टेफिनका अनुसार केमोथेरापीले काम नगरेको ठोस ट्युमरमा समेत यो उपचारबाट दीर्घकालीन रूपमा क्यान्सर हराउन सक्ने सम्भावना देखिएको छ। उनका अनुसार उपचार प्रणालीगत विषाक्त असरबिना अस्पतालबाहिरै सम्पन्न गरिएको थियो।
अध्ययनका सहलेखक तथा बाल क्यान्सर विशेषज्ञ आन्द्रास हेजेकेले पनि यो नतिजाले हेपाटोब्लास्टोमाको उपचारमा नयाँ प्रकारको कार टी सेल थेरापी सुरक्षित र प्रभावकारी हुन सक्ने प्रारम्भिक प्रमाण दिएको बताएका छन्। यद्यपि, जीपीसी३ प्रोटिन भएका अन्य ठोस ट्युमरमा यसको प्रभावकारिता पुष्टि गर्न थप अनुसन्धान आवश्यक रहेको उनको भनाइ छ।
विश्वभर क्यान्सरबाट हुने मृत्युका प्रमुख कारणमध्ये कलेजोको क्यान्सर पनि एक हो। यस्तो अवस्थामा ठोस ट्युमरको उपचारमा कार टी सेल थेरापीबाट प्राप्त यो नतिजालाई क्यान्सर उपचारको क्षेत्रमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
तर यो नतिजा एक जना बिरामीमा गरिएको प्रारम्भिक अनुसन्धानमा आधारित छ। त्यसैले यसैका आधारमा सबै कलेजोको क्यान्सरका बिरामीमा यो उपचार प्रभावकारी हुन्छ भन्न मिल्दैन। यसको दीर्घकालीन सुरक्षा र प्रभावकारिता पुष्टि गर्न थप क्लिनिकल परीक्षण आवश्यक छ।







