काठमाडौं । अस्ट्रेलियाको मेलबर्नस्थित तीन ठूला अस्पतालमा कार्यरत महिला स्वास्थ्यकर्मीको गोप्य भिडियो खिचेको आरोपमा एक कनिष्ठ चिकित्सक पक्राउ परेका छन्। रयान चो नामका ती चिकित्सकले सन् २०२४ देखि २०२५ सम्म ८७१ महिलासहित कुल ८७४ जनाको गोप्य भिडियो खिचेको अदालतसमक्ष स्वीकार गरेका छन्।

चोले अस्पतालका शौचालय तथा नुहाउने स्थानमा मोबाइल फोन लुकाएर भिडियो रेकर्ड गर्ने गरेको पाइएको छ। उनले मोबाइल फोनलाई जालीको झोलाभित्र राखेर कसैले थाहा नपाउने गरी रेकर्ड गर्ने गरेको अदालतमा सुनाइएको थियो।
प्रहरीले उनको उपकरण जाँच गर्दा करिब तीन हजार भिडियो फेला पारेको थियो। तीमध्ये दुई बालिकाका भिडियोसमेत रहेको अदालतमा जानकारी गराइएको छ।

घटनाबाट प्रभावित महिला चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीले अदालतमा आफ्नो मानसिक पीडा व्यक्त गरेका छन्। उनीहरूले कार्यस्थलमै असुरक्षित महसुस गर्नुपरेको अनुभव सुनाउँदै घटनाले आफूहरूमा गम्भीर मानसिक असर पारेको बताएका छन्।
गोप्य भिडियो खिच्नेलगायतका कसुर स्वीकार गरेका चोलाई नोभेम्बर २६ मा सजायपूर्वको सुनुवाइपछि हिरासतमा पठाइएको छ। उनलाई सन् २०२७ फेब्रुअरी १२ मा सजाय सुनाइने तयारी छ।







