नयाँ दिल्ली । विद्युतीय चुरोट (ई–सिगरेट) तथा भेपको प्रयोग र कारोबार नियन्त्रण गर्न भारत सरकारले कडा कानुनी व्यवस्था लागू गरेको छ । सन् २०१९ देखि कार्यान्वयनमा रहेको कानुनले ई–सिगरेटको उत्पादनदेखि आयात, निर्यात, ढुवानी, बिक्री, वितरण, विज्ञापन र भण्डारणसम्म प्रतिबन्ध लगाएको छ ।
कानुन उल्लङ्घन गर्ने व्यक्तिलाई कसुरको प्रकृतिअनुसार तीन वर्षसम्म कैद र पाँच लाख भारतीय रुपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सामाजिक सञ्जालमार्फत विद्यमान कानुनी व्यवस्थाबारे नागरिकलाई सचेत गराउँदै यसको उल्लङ्घन नगर्न आग्रहसमेत गरेको छ ।
भारत सरकारले सन् २०१९ सेप्टेम्बर १८ मा ‘विद्युतीय चुरोट निषेधसम्बन्धी अध्यादेश, २०१९’ जारी गर्दै ई–सिगरेटमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । त्यसपछि संसद्बाट विधेयक पारित भएपछि ५ डिसेम्बर २०१९ मा ‘विद्युतीय चुरोट निषेध ऐन, २०१९’ का रूपमा कानुन बनेको थियो । ऐनमा भने यसको कार्यान्वयन मिति १८ सेप्टेम्बर २०१९ देखि नै लागू हुने उल्लेख छ ।
उक्त कानुनअनुसार पहिलो पटक कसुर गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद वा एक लाख भारतीय रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ । दोस्रो वा त्यसपछिका कसुरमा तीन वर्षसम्म कैद र पाँच लाख भारतीय रुपैयाँसम्म जरिवाना वा दुवै सजायको व्यवस्था छ । त्यस्तै, प्रतिबन्धित ई–सिगरेट अवैध रूपमा भण्डारण गरेको पाइएमा छ महिनासम्म कैद वा ५० हजार भारतीय रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ ।
भारतको कानुनले निकोटिनयुक्त मात्र नभई निकोटिनरहित पदार्थ प्रयोग गरेर एरोसोल उत्पादन गर्ने विद्युतीय उपकरणलाई समेत समेटेको छ । यसमा विद्युतीय निकोटिन वितरण प्रणाली, ताप दिएर प्रयोग गरिने सुर्तीजन्य उत्पादन, विद्युतीय हुक्का र यस्तै प्रकृतिका उपकरण समावेश छन् ।
ई–सिगरेटमाथिको प्रतिबन्धलाई भारतले सार्वजनिक स्वास्थ्यसँग जोडेर अघि बढाएको निर्णयका रूपमा अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चा गरिएको छ । यस विषयमा प्रतिष्ठित चिकित्सा जर्नल ‘द ल्यान्सेट पब्लिक हेल्थ’ मा सन् २०२० अगस्टमा ‘भारतमा ई–सिगरेट प्रतिबन्ध : सार्वजनिक स्वास्थ्यका लागि महत्वपूर्ण निर्णय’ शीर्षकमा लेख प्रकाशित भएको थियो ।
उक्त लेखमा ई–सिगरेट प्रतिबन्धको पृष्ठभूमि र सार्वजनिक स्वास्थ्यसँग यसको सम्बन्धबारे चर्चा गरिएको छ । विशेषगरी युवापुस्तामा विद्युतीय निकोटिन वितरण प्रणालीको प्रयोग विस्तार हुन सक्ने जोखिम र निकोटिनको लतसम्बन्धी चिन्तालाई लेखले उजागर गरेको छ ।
ई–सिगरेट तथा भेपमा प्रयोग हुने निकोटिनले लत सिर्जना गर्न सक्छ । विशेषगरी किशोरकिशोरी र युवापुस्तामा यसको प्रयोग बढ्नु सार्वजनिक स्वास्थ्यका लागि चिन्ताको विषय मानिँदै आएको छ । विभिन्न स्वाद, आकर्षक बनावट र आधुनिक उपकरणका कारण युवापुस्ता यस्ता उत्पादनप्रति आकर्षित हुन सक्ने जोखिम पनि स्वास्थ्य क्षेत्रको चासोमा छ ।

ई–सिगरेट तथा भेपमाथि प्रतिबन्ध लगाउने भारत एक्लो देश होइन । ग्लोबल सेन्टर फर गुड गभर्नेन्स इन टोबाको कन्ट्रोल (जीजीटीसी) ले मे २०२५ मा सार्वजनिक गरेको विवरणअनुसार विश्वका कम्तीमा ३१ देशमा सबै प्रकारका ई–सिगरेटको बिक्रीमा प्रतिबन्ध लगाइएको छ ।
प्रतिबन्ध लगाउने देशमा भारतसहित ब्राजिल, अर्जेन्टिना, सिंगापुर, थाइल्यान्ड, श्रीलंका, भुटान, ब्रुनाई, कम्बोडिया, उत्तर कोरिया, इरान, इराक, लाओस, लेबनान, ओमान, कतार, प्यालेस्टाइन, पानामा, निकारागुआ, उरुग्वे, सुरिनाम, मौरिसस, इथियोपिया, गाम्बिया, सेसेल्स, युगान्डा, टिमोर–लेस्टे, टर्कमेनिस्तान, सिरिया र काबो भर्डे छन् ।
केही देशले निकोटिनयुक्त ई–सिगरेटको बिक्रीमा मात्र प्रतिबन्ध लगाएका छन् भने केहीले निश्चित मापदण्ड र नियमनका आधारमा बिक्री गर्न अनुमति दिएका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को सन् २०२५ मा सार्वजनिक विश्वव्यापी सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी प्रतिवेदनले पनि ई–सिगरेट तथा विद्युतीय निकोटिन वितरण प्रणालीलाई नियमन वा प्रतिबन्ध गर्ने देशको संख्या बढ्दै गएको देखाएको छ । विभिन्न देशले यस्ता उत्पादनको प्रयोग र व्यापार नियन्त्रण गर्न कानुनी व्यवस्था कडा बनाउँदै लगेका छन् ।
नेपालमा कानुन एकातिर, कारोबार अर्कोतिर
नेपालमा पनि विद्युतीय चुरोट तथा भेपको उत्पादन, आयात, बिक्री वितरण र प्रयोग नियन्त्रण गर्ने कानुनी व्यवस्था छ । सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) निर्देशिका, २०७१ को नियम २८ को उपनियम ३ ले विद्युतीय चुरोटको उत्पादन, आयात, बिक्री तथा वितरणमा रोक लगाएको छ ।
तर, केही वर्षयता अर्थ मन्त्रालयले भेपमा समेत करको दर निर्धारण गरेपछि यसको कारोबारले थप सहजता पाएको छ । कानुनले प्रतिबन्ध लगाएको वस्तुमा कर निर्धारण गरिएपछि यसको वैधानिकताबारे प्रश्न उठ्दै आएको छ । अहिले नेपालका सहरदेखि गाउँसम्म भेपको प्रयोग र कारोबार खुलेआम भइरहेको देखिन्छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले निर्देशिकामा रहेको कानुनी व्यवस्थालाई आधार बनाउँदै भेपमाथि प्रतिबन्ध लगाउनुपर्ने धारणा राख्दै आएको छ । केन्द्रले यसलाई जनस्वास्थ्यसँग जोडेर आफ्नो पक्ष प्रस्तुत गर्दै आएको छ ।
तर, अर्थ मन्त्रालयको करसम्बन्धी व्यवस्थाले स्वास्थ्य मन्त्रालयको प्रतिबन्धसम्बन्धी नीतिसँग विरोधाभास सिर्जना गरेको छ । दुई मन्त्रालयबीचको फरक दृष्टिकोणका कारण भेप व्यवसायीलाई कारोबार गर्न सहज भएको देखिन्छ । व्यवसायीले सर्वोच्च अदालतबाट समेत आफ्नो पक्षमा अनुकूल निर्णय गराएपछि भेपको कारोबार निरन्तर गर्दै आएका छन् ।








